सूचनाको शक्ति - The Power Of Information

        

विधि विधानभन्दा ओली माथि

एमाले आजीवन ओलीको कब्जामा, युवाको राजनीतिक भविष्य डामाडोल

दुई वर्षअघि ओलीका लागि विधान संशोधन गरेको एमालेले ओलीको उमेर नै घाँडो भएपछि उमेरहद हटाएको छ ।

नेकपा एमालेले इतिहासमै पहिलो पटक नीति निर्माण र नेतृत्व चयनलाई विशिष्टीकृत गर्यो । २०७८ असोज १५ गते एमालेको विधान महाधिवेशन सम्पन्न भयो ।

विधान महाधिवेशनबाट पाँच वर्षका लागि नयाँ नीति तय गरेको एमालेले २०७८ मंसिरमा चितवनमा १० औं महाधिवेशन गर्यो । नीति निर्माण गर्ने र नेतृत्व चयन गर्ने दुवै महाधिवेशनमा ७० वर्षे उमेरहदको विषय सबैभन्दा पेचिलो थियो ।

विधान महाधिवेशनमा हदम्याद हटाउनुपर्ने माग उठेको थियो । तर, बहुमतले हदम्याद राख्नुपर्ने भनेपछि ७० वर्षे उमेर हदम्याद लागू भयो । सोही व्यवस्था अनुरूप १०औं महाधिवेशनमा एमालेले नेतृत्व चुन्यो ।

एमालेले इतिहासमै पहिलोपटक विधानलाई विशिष्टीकृत गरेको थियो । तर, २० महिना मात्रै विधानको औचित्य समाप्त भयो । विधान महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठ्ने गरी ७० वर्षे उमेर हदम्याद हटाएको छ ।

गत जेठ १९ गते च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हदम्याद हटाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अहिले विभिन्न टिकाटिप्पणी र आलोचना भइरहेको छ ।

किन हट्यो ७० वर्षे उमेरहद ?

एमालेले उमेरहद हटाउने विभिन्न कारण होलान्, तर मुख्य कारण भने ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउने योजना नै हो । २०७१ सालमा भएको नवौँ महाधिवेशनले पार्टीको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो ।

यस्तो व्यवस्थालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा एमालेभित्र छलफल हुँदै आएको थियो । विधान अधिवेशनमा पनि ओलीकै जन्ममिति हेरेर ७० वर्षे उमेरहदलाई संशोधन गरियो । उक्त अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका ओली ७० वर्ष पुग्न केही महिना मात्रै बाँकी थियो ।

उनको जन्ममिति हेरेर विधानमा ७० वर्ष नपुग्दै निर्वाचित भएमा कार्यकाल पूरा गर्न पाउने प्रावधान राखियो । ‘७० वर्ष पूरा नभएकाले कमिटीमा रहन पाउने’ व्याख्याले ओलीलाई अध्यक्ष दोहोरिन बाटो खुल्यो ।

त्यसपछि चितवन महाधिवेशनबाट ओली पुनः अध्यक्ष बने । यदि ७० वर्षे मात्रै राखेको भए ओली अध्यक्ष हुने नै थिएनन् । दुई वर्षअघि ओलीका लागि विधान संशोधन गरेको एमालेले ओलीको उमेर नै घाँडो भएपछि उमेरहद हटाएको छ ।

एमालेबाट प्रतिस्पर्धी विद्रोही तथा वरिष्ठ नेताहरू बाहिरिएपछि ओली ओली एमालेका एक्लो खेलाडि भएका छन् । ओली विधि विधानभन्दा माथि रहेको राजनीतिक विश्लेषक सोमत घिमिरे टिप्पणी गर्छन् ।

उनी भन्छन्, ‘एमालेमा ओली विधि विधानभन्दा पनि माथि छन् । उनी त देउता बराबर हुन् । देउतालाई कहाँ विधान लाग्छ र ? उनले आफू बाहेक पार्टीमा अरु कसैलाई नेता देख्दैनन् । उनी सबैलाई दास बनाएर लामो समय नेतृत्व गर्न चाहन्छन् । त्यसैले ७० वर्षे उमेरहद हटाएका हुन् ।’

ओली अहिले ७२ वर्षका भए । विधान अनुसार उनी अर्को महाधिवेशनमा उम्मेदवार बन्न योग्य हुने छैनन् । तर, पुनः पार्टीको नेतृत्व गर्दै देशकै नेतृत्व गर्ने उनको चाहनाले विधान महाधिवेशन भएको २० महिनामै एमालेले विधान संशोधन गरेको छ ।

हुन त यसले ओलीलाई मात्रै नभइ एमालेका अरु शीर्ष नेताहरूलाई राहत मिलेको छ । यदि उमेरहद नहटाएको भए एमालेका पदाधिकारी तहका धेरै शीर्ष नेताहरू राजनीतिबाट ‘रिटायर्ड’ हुने थिए ।

क-कसलाई फाइदा ?

७० वर्षे उमेर हदम्याद हट्दा हालका पदाधिकारीमध्ये सात जनालाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । यसले पदाधिकारीलाई मात्रै नभएर केन्द्रीय कमिटीका धेरै नेतालाई पनि हाइसन्चो भएको छ । एमालेमा १९ (हाल १८) सदस्यीय पदाधिकारी छ ।

७० वर्षे उमेरहद कायम राख्ने हो भने धेरै आगामी महाधिवेशनबाट सात जना पदाधिकारी बिदा हुनेछन् । उमेरहद कायम रहँदा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायत ‘रिटायर्ड’ हुने थिए ।

तर, उमेरहद हटाइएपछि उनीहरूको राजनीति जोगिएको छ । यसअघि ७० वर्षे उमेरहदका कारण नवौँ महाधिवेशनबाट भरतमोहन अधिकारी र दशौँ महाधिवेशनबाट अमृत बोहरा बिदा भएका थिए । भरतमोहनको मृत्यु भइसकेको छ भने अमृत बोहरालाई भने पुनः एमालेमा फर्कने बाटो खुलेको छ । अन्य धेरैलाई हाइसन्चो भएको छ ।

केपी शर्मा ओली, अध्यक्ष

ओली २००८ फागुन १० जन्मेका हुन् । उनी हाल ७२ वर्षका भएका छन् । ०८३ सालमा हुने ११औं महाधिवेशनमा उनी ७५ वर्ष पुग्नेछन् । उमेरहद हटेपछि उनका लागि अध्यक्षको तेस्रो ढोका खुलेको छ ।

ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष

वरिष्ठ उपाध्यक्ष पोखरेल २०१० साल माघ २२ गते जन्मेका हुन् । उनी हाल ७० वर्षका भए । उमेरहद कायम रहेको भए उनी पनि ११औं महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवार बन्न पाउने थिएनन् । तर, उमेरहद हटेका कारण उनको सक्रिय राजनीति कायमै रहने भएको छ ।

अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष

यदि, उमेरहद नहटाएको भए उपाध्यक्ष शाक्य पनि ‘रिटार्यड’ हने थिए । २०१० असोज १४ गते जन्मेका उनी केही महिनामै ७० पुग्दैछन् । ११औं महाधिवेशनमा उनी ७३ वर्षका हुने छन् । उमेरहद हटाउँदा उनलाई पनि राहत मिलेको छ ।

सुवास नेम्वाङ, उपाध्यक्ष

२०१० फागुनमा जन्मेका उपाध्यक्ष नेम्वाङ ७० वर्षका भए । आगामी महाधिवेशनमा उनी ७३ वर्षका हुनेछन् । हामलै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित भएका नेम्वाङलाई पनि उमेरहद हट्दा राहत मिल्ने भएको छ ।

युवराज ज्ञवाली, उपाध्यक्ष

२०१० असार १३ गते जन्मेका उपाध्यक्ष ज्ञवाली ७० वर्ष पुगिसकेका छन् । उमेरहद नहटेको भए एमालेमा तीन दशक लामो सक्रिय राजनीति गरेका ज्ञवाली पनि विदा हुनुपर्ने थियो । आगामी महाधिवेशनमा ७३ वर्ष पुग्ने ज्ञवालीका लागि सक्रिया राजनीतिको सम्भावना बचेको छ ।

केशव वडाल, नेता

२००९ साल असोजमा जन्मेका नेता बडाल हाल ७१ वर्षका भए । एमालेका केन्द्रीय सदस्य रहेका बडाल पनि उमेर हद कायम रहेको भए ११औं महाधिवेशनबाट विदा हुनुपर्ने थियो । तर, बडाललाई पनि राहत मिलेको छ ।

विदा भएका नेता फर्कन बाटो खुल्यो

एमालेले नवौं र दशौं महाधिवेशनमा कायम गरेको ७० वर्षे उमेरहद सचिवालय बैठकबाट खारेज गरेसँगै यसअघि उमेरहदका कारण एमालेको सक्रिय राजनीतिबाट बाहिरिएका केही नेतालाई पुनः क्रिाय राजनीतिमा फर्कको बाटो खुलेको छ ।

अमृत बोहोरा, रिटार्यड नेता

उमेरहदका कारण दशौँ महाधिवेशनबाट बोहरा बाहिरिएका नेता हुन् । तर, एमालेले उमेरहद हटाएसँगै बोहरा पुनः सक्रिय राजनीतिमा फर्कने बाटो खुलेको छ । हाल सल्लाहकार परिषद सदस्य रहेको बोहरा २००५ बैशाख १५ गते जन्मेका हुन् । उनी ७५ वर्षका भए ।

सत्यनारायण मण्डल, रिटार्यड नेता

२००८ साउन १५ गते जन्मेएका नेता सत्यनारायण मण्डल पनि उमेर हदका कारण दशौँ महाधिवेशनबाट बाहिरिएका थिए । हाल उनी, उनी ७२ वर्षका भए । एमालेको पछिल्लो निर्णयसँगै मण्डल पनि पुनः सक्रिय राजनीतिमा फर्कने बाटो खुलेको छ ।

बोल्नै सक्दैनन् युवा नेता

नेपाली राजनीतिमा लामो समयदेखि उठ्दै आएको मुद्दा हो, पुस्तान्तरण । तर, बारम्बार उठ्ने पुस्तान्तरणको मुद्दा नारामा मात्रै सीमित बनेको छ । यो विषयलाई अपवादबाहेक राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरू उठाउनै सक्दैनन् ।

एमालेमा ७० वर्षे उमेदहद हटाउँदा ६० वर्ष उमेर वरिपरि रहेका र आगामी महाधिवेशनमा नेतृत्व ताकिरहेका केही नेताहरु असन्तृष्ट भए पनि बोल्न सकेका छैनन् । उमेर हद हटाउने निर्णय चित्त नबुझे पनि उनीहरु बोल्ने अवस्थामा छैनन् ।

विगतमा अध्यक्ष ओलीसँग फरक मत राख्ने माधव नेपाल, घनश्याम भुसालहरू पार्टीबाट बाहिरिसकेका छन् । बाँकी रहेका दोस्रो र तेस्रो तहका नेताहरू ओलीका अगाडि बोल्न सक्ने अवस्थामा छैनन् ।

दोस्रो तहको नेताहरू ओलीविरुद्ध बोल्न त परको कुरा, उनीहरु ओलीकै बचाउमा लागिपरेका छन् । अरु दलका पाका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउन उमेरहद हटाएको भन्दै प्रचार विभाग प्रमुख तथा युवा नेता राजेन्द्र गौतम ओलीको बचाउ गर्छन् ।

ओलीलाई नै अध्यक्ष बनाउनकै लागि हदम्याद हटाइएको त हैन ? भन्ने दृष्टिन्यूजको प्रश्नमा उनले भने, ‘उहाँको लागि मात्रै बाटो खुल्यो, बन्यो भन्ने होइन । फेरि उहाँ नै अध्यक्ष बन्नुहुन्छ भन्ने कुरा अहिल्यै बताउनु राम्रो हुँदैन । यो आउँदो महाधिवेशनपछि थाहा हुने कुरा हो । यो कसैलाई लक्षित गरेर हटाइएको होइन ।’

युवामा दास मानसिकता हावी छ : घिमिरे

राजनीतिक विश्लेषक सोमत घिमिरे एमालेका युवा नेतालाई ओलीसँग फरकम मत राखे राजनीति समाप्त हुने डर रहेको बताउँछन् । राजनीतिक दलमा यति धेरै दास मानसिकता एमालेमा देखिएको उनको तर्क छ ।

घिमिरे भन्छन्, ‘एमालेका युवा नेतामा दास मानसिकता विकास भएको छ । अध्यक्षसँग फरक मत राखे राजनीति नै समाप्त हुन्छ भन्ने मनोभाव पैदा भएको छ । अध्यक्षलाई प्रश्न गर्नै नसक्ने, जे भने पनि मान्दै जानु दास मानसिकता हो । एमालेका युवा र बाँकी सबै नेताले दास भूमिका निर्वाह गरिरहेका छन् ।’

एमालेमा आगामी नेतृत्वका रुपमा हेरिएका नेताले पनि उमेरहद हटाउने विषयमा खेलेर बोल्न चाहेका छैनन् । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई अन्य युवा नेताले यस विषयमा एक शब्द पनि नबोल्नुले पनि घिमिरेको विश्लेषण पुष्टि गर्छ ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : २ असार २०८०, शनिबार ०८:२६