‘इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरु स्रोत छैनन् । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?’ वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमाल भन्छन् । विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ ।
बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एकगाग्री पानी भर्न ३ बजे पालो आउँछ । सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एकगाग्री पानी भर्न आधा घण्टा लाग्छ । वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ ।
पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनिषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्छिन् । विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ । कारण, खानेपानी समस्या । बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दा नै १० बज्छ ।
पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ । धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन् । पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ । मनिषा भन्छिन्, ‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु । हातमुख नधोएरै स्कुल गएको छु ।’ गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उनले बताइन् । धारामा नियमित र पर्याप्त पानी नआउँदा निकै समस्या भएको उनले भनाई छ ।
मनिषाले भनिन्, ‘झोप्रा बृहत् खानेपानीको धारा ठूलाबडाका घरमा मात्र आउँछ रे ! बजार तिरबाट अगाडि पानी आउँदैन । सडकको छेउमा सोलिघोप्टे गैराबाट ल्याएको पाइपमा थोरै पानी आउँछ । यहाँका सबै बस्तीहरू यसै पानीको भरमा छन् । एकगाग्री पानी भर्न ५ घण्टासम्म लाइन कुर्नुपर्ने समस्या छ ।’ प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ ।
वीरेन्द्रनगरका १ देखि १२ सम्म खानेपानीको समस्या छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोरप्रसाद उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म समाधान गर्न सम्भव नरहेको बताए । उनले भने, ‘वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकाहरूमा पनि खानेपानीको समस्या छ । समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन् ।’
भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ । संघीय सरकारले अघिल्लो वर्ष २ करोड र गत आर्थिक वर्ष ६ करोड रुपैयाँ छुट्ट्याएको थियो । गत वर्ष प्रदेश सरकारले छुट्ट्याएको ५० करोड रुपैयाँ कामै नभई फिर्ता गएको थियो । बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन् । दैनिकी पानी बोकेर जान्छ । गाउँमा खानेपानीको हाहाकार छ । गाईबस्तु पनि छन् । मान्छेदेखि पशुसम्म गाग्रीमा बोकेकै पानीको भरमा छन् ।
‘खानेपानीको समस्या भोग्न थालेको वर्षौं भइसक्यो । पिउने पानीकै अभाव छ । पानी बोक्दा बोक्दै थाप्लोका कपाल पनि झरीसक्यो,’ उनले भनिन्, ‘नुहाउन त कहाँ हो कहाँ । मुख धुन पनि धारामा पालो पाइँदैन । थोरै पानी आउँछ । पानी भर्नेहरूको लाइन ठूलो हुन्छ । धारामा सधैं गाग्री सम्मेलन हुन्छ ।’ कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिकहरु अहिले खानेपानीको चरम अभावमा छन् ।
वीरेन्द्रनगरमा खानेपानी संकट चुलिएको छ । गर्मी समय सुरु भएसँगै पानीको चरम संकट निम्तिएको छ । दुई सातामा एक दिनमात्रै धारामा पानी आउने गरेको वीरेन्द्रनगर नगरपालिका–१ की बसन्ती खड्का बताउँछिन् । उनले भनिन्, ‘दुई सातामा एक दिन अलिकति पानी आउँछ । अरु स्रोत छैनन् । इनार खन्यो पानी आउँदैन । खानेपानीको हाहाकार छ । असारमा झनै समस्या हुन्छ । खानेपानी नभए कसरी बाँच्ने हो ?’
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन । वीरेन्द्रनगरको वडा नं.९ मा पनि खानेपानीको संकट चुलिएको छ । धारामा १५–१६ दिनमा एक घण्टा मात्र पानी आउने गरेको छ । कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीय नागरिक बताउँछन् । वडा नं. ९ का स्थानीय विनोद गुरुङले खानेपानीको हाहाकार भएको बताए ।
गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको उनले बताए । ‘प्रदेश राजधानीमै खानेपानीको व्यवस्था छैन । गर्मीयामसँगै खानेपानीको थप समस्या भइरहेको छ,’ गुरुङले भने । आफूले जारको पानी किनेर खाने गरेको भन्दै गाईबस्तुलाई समेत पानी नहुँदा समस्या भइरहेको जनाए । वडाले खानेपानीको समस्या समाधान गर्न दुई वटा डिप बोरिङ खनेको थियो । ती बोरिङ्गसमेत सञ्चालनमा आउन सकेका छैनन् ।
वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष क्रृषि गिरीले बताए । उनले भने, ‘अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ्ग प्रयोगमा छैनन् । एउटा नयाँ बोरिङ्ग सञ्चालनमा ल्याउँदैछौँ ।’ वीरेन्द्रनगरमा १२० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ । उपभोक्ता भने तालिका अनुसार पानी नआएको बताउँछन् ।
वीरेन्द्रनगर–३ की देवि भट्टराई धारामा पानी नआउने र आए पनि एक–आधा घण्टा मात्र आउने गरेको बताउँछिन् । खानेपानी संस्थाले पनि आवश्यक मात्रामा खानेपानी आपूर्ति हुन नसकेको स्वीकारेको छ । संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले पानीका मुहान सुक्न थालेकाले पानी पर्याप्त मात्रामा पुर्याउन नसकिएको बताए । उनका अनुसार प्रतिसेकेन्ड २७५ लिटर खानेपानीको माग हुने गरेकोमा प्रतिसेकेन्ड ८० लिटर मात्र उत्पादन हुने गरेको छ ।
प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ । यसले खानेपानीको समस्या बढ्दै गएको सुर्खेत उपत्यका खानेपानी संस्थाका प्रमुख गौतम बताउँछन् । गौतमका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । मागअनुसार खानेपानी पुर्याउन नसकिएको उनले बताए ।
मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको संख्या बढेको छ । प्रदेशको राजधानी बनेपछि झन् जनसंख्या बढेको छ ।’ बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएपछि खानेपानीको माग र आपूर्ति बीचमा असन्तुलन देखिएको गौतमले बताए ।
पछिल्लो समय खानेपानीका मुहान स्रोत सुक्दै गइरहेका छन् । उनी भन्छन्, ‘पानीका स्रोत थपिए केही राहत भने पक्कै हुुनेछ ।’ वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट १५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिएका छन् । यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ ।
प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसङ्ख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो । संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १२८ लिटर प्रतिसेकेन्ड पानी मात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो ।
३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ । यो वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो । खडेरीको समयमा माग बढ्ने भए पनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज नभएको देवकोटाले बताए । प्रमुख पानीको स्रोतको रूपमा झुप्रा खोलालाई लिने गरिन्छ ।
वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ । दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि असारसम्म टेण्डर आह्वान गरिने नगरपालिकाले जनाएको छ । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता यसअघि नै भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सम्पन्न भइसकेको छ ।
असारभित्रै ठेक्का प्रक्रिया सुरु हुने नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बताए । आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ । यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ । बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने सुरु भइसकेको खनालले बताए । उनका अनुसार हालै आयोजनाको डिपिआर सम्पन्न भएको छ ।
तीन दशकपछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न ‘भेरी पम्पिङ’ आयोजना अघि बढाइएको पनि उपप्रमुख खनालले बताए । ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विषयमा हालै नगरपालिकामा बृहत् छलफल भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालका अनुसार पानी प्रशोधन केन्द्र लेकबेसी नगरपालिकाको वन क्षेत्रमा राख्नुपर्नेछ ।
०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो । भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् वीरेन्द्रनगर उपत्यकामा ल्याउने भनिएको छ ।
वन क्षेत्र भएकाले इआइए गर्नुपर्ने भए पनि अहिलेसम्म त्यो काम अघि बढेको छैन । इआइए भए औपचारिक रुपमा आयोजनाको काम सुरु हुने अपेक्षा छ । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन ड्राफ्ट गरेको छ ।
नगर सभाबाट पास भएपछि आयोजनाको टेन्डर प्रक्रियामा अघि बढ्नेछ । उनले भनिन्, ‘आयोजनाको दुई चरणमा काम गरिनेछ । पहिलो चरणको कार्यका लागि बजेट सुनिश्चित भइसक्यो । पहिलो चरणको काम तीन वर्षमा सम्पन्न हुनेछ । आफ्नै कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने मेयर ढकालको दाबी छ । नगर प्रमुख मोहनमाया ढकालका अनुसार असार मसान्तसम्म आयोजनाको टेन्डर आह्वान हुनेछ ।
पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ । पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ । त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । अनि, ५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।
अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । अबको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसङ्ख्या लाभान्वित हुनेछ । आयोजना सम्पन्न नहुञ्जेलसम्म भइरहेका संरचना र पम्पिङ गरिएको पानीबाट खानेपानी सहज बनाइने नगर प्रमुख ढकालले बताइन् । आयोजना डिजाइन कन्सल्टेन्सी प्रशान्त मल्लका अनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि १ अर्ब ५० करोड बराबरको बजेट अनुमान गरिएको छ ।
त्यसमा संघीय सरकारको ८५ करोड, वीरेन्द्रनगर नगरपालिकाको ७ करोड ३५ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख बजेट विनियोजन गर्नुपर्ने हुन्छ । आयोजना अगाडि बढाउन असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गा प्राप्तिको लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्नेछ ।
यस्तै असार मसान्तसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिकाबीच भेरी पम्पिङ उप आयोजनाको इन्टेक र ट्रिटमेन्ट प्लान्टको लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता गराइ सक्नुपर्ने छ । वीरेन्द्रनगरमा पानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजनाको लागि अहिले सुनिश्चित भएको बजेट अपुग हुने भएकाले ८ अर्ब बजेट सुनिश्चित गरिनुपर्ने बताए ।
Design : Aarush Creation
सुरेश आचार्य । सुर्खेत