सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा घरका मूल ढोका र मन्दिरमा भेडाका आकृति !

कर्णालीका मस्टो (कर्णाली भेगका परम्परागत कुल देवता)को थान अथवा मन्दिर मात्र नभई घरका मूल ढोकामा भेडाको आकृति कुँद्ने परम्परा सयौँ वर्षदेखि रहँदै आएको जानकारहरूले बताएका छन् । कर्णालीको भूबनोटअनुसार यस्तो आकृति कुँदिने परम्पराको विशिष्ट मौलिक, संस्कृति र भौगोलिक महत्त्व रहेको जानकारहरूले बताएका छन् ।

गाउँघरमा हुन सक्ने प्राकृतिक प्रकोपले असर नगरून् भन्ने मान्यताअनुसार यस्तो गरिँदै आएको संस्कृतिका जानकार तथा पूर्वशिक्षक रमानन्द आचार्य बताउँछन् । ‘देवताको शरणमा जाँदा मनलाई आतङ्कित पार्ने तनावको स्थिति नहोस् अनि भूकम्प, चट्याङ, आगलागी, बाढीपहिरो र महामारीजस्ता प्रकोपले असर नपारून् तथा अन्य पशुपक्षीको संरक्षण होस् भनेर यस्तो आकृति कुँद्ने गरेको पाइन्छ,’ आचार्यले बताए ।

ऐतिहासिक महत्त्व

१२ औँ शताब्दीमा खस साम्राज्य रहँदादेखि नै मस्टो देवताको थानमा यस्ता आकृति कुँद्ने गरिएको इतिहास रहेको आचार्य बताउँछन् । कर्णाली भेगका परम्परागत कुलदेवता मस्टोका बाह्र भाइ रहेको बताइन्छ । कर्णाली तथा खस क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूले बाबिरा, सुनरगाउँ, थार्पा, गुरो, उखाडी, बुढा, लाखुडा लगायत १२ भाइ मस्टो मान्न सुरु गरेदेखि नै यस्ता आकृति कुँदिएको उनले बताए ।

‘लिखित रूपमा यसको आधिकारिक दस्तावेज नभए पनि बुढापाकाहरूको भनाइअनुसार यसको महत्त्व खस साम्राज्य कालदेखि नै रहेको पाइन्छ,’ उनले भने । भेडा शुभ जनावर भएको र साँढ जातको भेडालाई मेषवाहनी भगवतीको वाहनका रूपमा लिइने भएकाले पनि यसको आकृति कुँदिएको उनले बताए ।

सामाजिक तथा सांस्कृतिक महत्त्व

कर्णाली क्षेत्रका किसानहरू पशुपालन पेसामा बढी संलग्न हुने भएकाले यसको सामाजिक महत्त्व छुट्टै रहेको पाइन्छ । हिमाली क्षेत्रको अन्य पशुका तुलनामा भेडा सुन्दर र सद्गुणी मानिने भएकाले देवताका मन्दिरमा यसका आकृति कुँद्ने गरिएको बुढापाकाहरू बताउँछन् । सोही कारण आवश्यकताअनुसार मानिसहरूले भेडाको बलिसमेत दिने गरेको आचार्य बताउँछन् ।

देवताको मन्दिरमा मात्रै नभई घरमा पनि मानिसहरूले आफ्नै आस्थाका कारण राख्ने गरेको पाइन्छ । घरपरिवारमा शुभ तथा कल्याण होस् भनेर आफूहरूले घरको मूल ढोकामा यस्ता चित्र कोर्ने गरेको जुम्लाको तिला गाउँपालिका ४ नुवाकोटकी ७० वर्षीय बिजुली उपाध्यायले बताइन् । ‘भेडालाई भगवतीको वाहनको रूपमा लिने मान्यताले घरमा पनि यस्तो आकृति राखेका हौँ,’ उनले भनिन् । यी काठका आकृतिहरू सिकर्मीहरूले नै बढी बनाउने गरेका छन् ।

हराउँदै परम्परा

पहिला घर बनाउँदा मूल ढोकामा वा घरको धुरीमा अनिवार्य रूपमा भेडाको सिङको आकृति बनाउने गरिए पनि नयाँ घरहरूमा भने त्यस्तो बनाएको पाइँदैन । बुढापाकाका अनुसार साँढलाई देवताले मन पराउने र त्यसले संरक्षण पनि गर्ने मान्यताका कारण घरमा त्यस्तो बनाउने गरिन्थ्यो ।

जुम्लाको चन्दननाथ नगरपालिका ५ का पूर्णसिंह कठायत यस्ता आकृति कुँद्ने काम वंश अथवा कुल परम्पराको रूपमा चल्दै आएको बताउँछन् । ‘अहिले मानिसहरूले महँगो हुन्छ अथवा घरको नयाँ डिजाइनमा सुहाउँदैन भनेर पनि बनाउन छोडेका छन्,’ उनले भने । तर केहीले भने आफूले घर बनाउँदा राख्ने गरेको अहिले पनि देख्न सकिन्छ ।

कसले बनाउँछन् यस्ता आकृति ?

पहिला मन्दिरहरूमा राखिएका भेडाका आकृति देखेर आफूहरूले त्यस्तै बनाउन सिकेको जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटका दले सार्कीले बताए । अहिले भने मन्दिरमा भेडाबाहेक अन्य देवीदेवताको आकृतिसमेत कुँद्ने गरिएको उनी बताउँछन् । ‘भेडाको सिङको महत्त्वका विषयमा जानकारी नभए पनि पहिलाका मानिसले बनाएको सीपलाई जोगाई राख्नका लागि हामीले बनाउने गरेका छौँ,’ उनले भने ।

पहिला घरमै उपलब्ध औजारहरूबाट बनाइने भए पनि अहिले भने भेडाको आकृति बनाउन मेसिनको प्रयोग गरिने र त्यसले आफ्नो काम सहज बनाएको उनी बताउँछन् । मूर्ति तथा अन्य काष्ठकलाका सामाग्री बनाउनको लागि कडा खालको पुरानो काठ बढी प्रयोग हुने उनी बताउँछन् । ‘यस्ता कला आस्थाको आधारमा आफ्नो इच्छाअनुसार निःशुल्क बनाउने गर्छौँ । देवताप्रति आफ्नो कर्तव्य ठानेर आत्मसन्तुष्टिको लागि पनि बनाउँदै आएका छौँ,’ उनले भने ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:४३