सूचनाको शक्ति - The Power Of Information

        

चर्को घामले करोडौँको ड्रायगन फ्रुट नष्ट

केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । तीन पटकसम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मर्कामा परेका छन् ।

चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन् । यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँचदेखि सात लाखसम्मको ड्रायगन क्षति गरेको छ ।

‘पहिलो पटक सुरु गरेको खेतिमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो,’ तामाङले भने । ड्रायगनको बोट पहेँलिनु, फल कुहिँनुले पहिलो पटक मै नराम्रो झट्का लागेको उनले बताए । ‘अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ । पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्छ,’ पूर्व वडाध्यक्ष तामाङले भने ।

पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रायगनका बोटमा क्षति भएको छ । अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन् । लिम्बूले यस पटकको घाम र हावाले १५ लाख बराबरको ड्रायगन कुहिएको जानकारी दिए । फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मैसमका कारण चाउरिएर साना दाना लागेका उनले बताए ।

एक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बूको भनाइ थियो । ‘एक पटकको लगानीले २५ वर्षसम्म उत्पादन दिने गरेको छ । सुरुमा केही समस्या भए पनि पछि सामान्य हेरचाहा गरे राम्रो उत्पादन हुन्छ,’ उनले भने । सुनवर्शी नगरपालिका–१ मा सञ्चालित तुर्छा ड्रायगन फ्रुट फर्ममा १५ देखि २० लाख बराबरको फुल्दै गरेको ड्रायगनका फल बोटमै ओइलिएर खसेका फर्मका सञ्चालक गणेश राईले बताए ।

लगातार एक हप्तासम्म लागेको चर्को घाम र बढ्दो गर्मीका कारण तीन लटसम्मका फल कुहिएको उनले बताए । मोरङ गछियामा व्यावसायिक ड्रायगन खेती गर्दै आएका टिएन तामाङको फर्ममा रू चारदेखि पाँच लाख बराबरको ड्रायगन कुहिएको छ । सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासि लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो ।

पूर्वी नेपालमा पहिलो पटक ड्रायगन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए । आफूले सञ्चालन गरेको तर्जुमा ड्रायगन फ्रुट फर्ममा मात्रै रू पाँच–सात लाखको फल कुहिएर झरेको उनको भनाइ थियो । ड्रायगनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ । यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्छ ।

‘ड्रायगनमा फूल फूल्ने, फल लाग्ने र फल पाक्ने क्रम सँगसँगै हुन्छ । सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ,’ घलेले भने । उनका अनुसार फल पाक्न सुरु भएपछि १९ हप्तासम्म प्रत्येक एक हप्ताको फरकमा फल टिप्न सकिन्छ । ड्रायगन फलको नेपालमा अत्यधिक माग छ । खुल्ला सिमानाका भएकाले थाइल्यान्ड लगायत बाहिरी देशबाट आएको ड्रायगन फ्रुटले नेपाली बजार चलेको छ ।

बाहिरबाट आयात हुने ड्रायगन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रायगनले बजार नपाउने किसानको भनाइ छ । नेपाली ड्रायगनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरु बताउँछन् । पूर्वमा ड्रायगन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन् । नेपालमा ड्रायगन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो ।

चर्को घामका कारण ड्रायगनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या आउन थालेको किसानले गुनासो गरेका छन् । ड्रायगन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ । साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १६:२०