सूचनाको शक्ति - The Power Of Information

        

मासिँदै इतिहास र संस्कृति

आधुनिक विकासको निसानामा इतिहासकालीन चौतारी

पहिले डाँडाको वर–पिपल हावाहुरीले भाँच्थ्यो । अहिले विकासका नाममा मान्छेले नै डोजर लगाएर उखेल्न थालेका छन् ।

गह्रुँगो भो घाँसको भारी, घाँसको भारी
भेटिएन बिसाउने चौतारी
डाँडै पिपल
डाँडै पिपल भाँच्यो हुरीले छैन शीतल

गायिका मुना थापा मगरको यो गीतले वर–पिपल (चौतारी) बारे धेरै कुरा भन्छ । कुनै समय यस्तो पनि थियो, जहाँ प्रेमी होस् या बटुवा, वनजंगल पाखापखेरा, लेकबेँसी खर्कबाट घाँस–दाउरा गरेर थकाइ मेट्न चौतारीमा पुग्थे । मेलापात गर्दा होस् या उकाली–ओराली, थकान महसुस भएपछि चौतारीमा बसेर सिर्सिरे बतासको आनन्द लिँदै प्रेमिल र आत्मीय गफ गर्थे ।

यिनै चौतारीमा बसेर बूढापाकाहरू आफ्ना बालापनका दिन सम्झिँदै ठट्यौली गर्थे । यसरी चौतारीको शीतलमा बस्दाबस्दै समय बितेको पत्तो हुँदैनथ्यो । हो, कुनैबेला यस्तो पनि जुग थियो । तर, पछिल्लो समय आयातित विकासको स्वरूप गाउँघरमा मोटर बाटो पुगेपछि यी सबै कुरा हराउन थालेका छन् । पहिले डाँडाको वर–पिपल हावाहुरीले भाँच्थ्यो । अहिले विकासका नाममा मान्छेले नै डोजर लगाएर उखेल्न थालेका छन् ।

चौतारीमा मै बसे होला कि ?
वरको डाली नुगेर छोला कि ?

यिनै चौतारीमा कहिले सुखका त कहिले दुःखका भारी बिसाइन्थ्यो । कहिले माया पिरतीका कथा लेखिन्थ्यो । अनि कहिले परदेश गएका परदेशीको सम्झनामा गीत बनेर विरह पोखिन्थ्यो । घाँस दाउराको भारी बिसाई नौ डाँडापारिको माइती देशको सम्झनादेखि सासूको शासनमा नवआगन्तुक बुहारीहरू यिनै चौतारीमा पीडाको आँसु बगाउँथे । खासमा वर–पिपलका चौतारीसँग हरेक नेपालीका कथा र सम्झना गाँसिएका छन् ।

केही समयअघि मात्र दैलेखको ठाटीकाँध गाउँपालिका–२ का रघे लुवार ठाटीकाँधका पिपल चौतारीमा बसेर आफ्ना दुःख मेटाउँथे । दिउँसोको टन्टलापुर घाममा घरबाट हिँडेर बजार पुग्ने उनी चौतारीमा बूढापाकासँग बसेर आफ्ना मनको बह पोख्थे । तर चौतारी ढलेपछि पहिलेजस्तो त्यहाँ जान मन नलाग्ने गरेको उनी बताउँछन् ।

‘पहिले डाँडाको चौतारी थियो,’ उनी भन्छन्, ‘बूढो मान्छे, घरमा बस्दाबस्दा दिक्क लागेपछि आफ्ना सँगातीसँग चौतारीमा भलाकुसारी गर्दा बुढेसकाल लागेको महसुस नै हुन्थेन । अहिले चौतारी ढलेपछि त्यतातिर जान मनै लाग्दैन ।’ गर्मीमा हिँडेर ठाटीकाँध बजार पुग्नेको बाटोभरिको थकाइ चौतारीमा विश्राम गर्दा हराइजान्थ्यो । अहिले त्यो चौतारी ढलेको छ । ठाटीकाँध गाउँपालिकाले सडक विस्तार गर्ने भन्दै चौतारी ढलाएको छ ।

पहिले ठाटीकाँध बजारलाई समेत उज्यालो बनाएको चौतारी अहिले उजाड डाँडाका रूपमा परिणत भएको स्थानीय बताउँछन् । पाटीपौवा र चौतारीलाई गुरुकुल शिक्षाको पहिलो पाठशाला मानिन्छ । सामाजिक थलोको साझा चौतारीले बटुवाको थकान मेटाउने र बूढापाकाको दिन कटाउने काम गर्थे । तर यी र यस्ता पाटीपौवा तथा चौतारी विकासको निसानामा परेका छन् । आधुनिक विकासका नाममा यस्ता पाटीपौवा र चौतारी मासिन थालेको स्थानीय बताउँछन् ।

विभिन्न इतिहास र संस्कृति बोकेका धेरै चौतारी आधुनिक विकासको निसानामा पर्न थालेका छन् । यसरी वर, पिपल, समी, टुनी, सिमल लगायतका चौतारी, रुखबिरुवामा विकासको डोजर चल्न थालेपछि गाउँघरमा पानीका स्रोत समेत सुक्न थालेका छन् । चौतारी पाटीपौवा माँसिदै जाँदा पुराना धाराको पानीसमेत सुक्दै गएकोे नारायण नगरपालिका दैलेखका भक्तिकिशोर श्रेष्ठ बताउँछन् । आधुनिक विकासले पानीका मूल सुक्नेदेखि प्रकृतिलाई नै क्षति पुर्याएको उनको भनाइ छ ।

गाउँघरको मध्य भागमा होस् या डाँडाको शिरमा, देउरालीमा होस् या भन्ज्याङमा, दिनप्रतिदिन इतिहास बोकेका चौतारी मासिँदै गइरहेका छन् । घरघर, गाउँगाउँ र डाँडापाखामा मोटरबाटो खुलेपछि केही चौतारी भने एक्लिएका छन् । यसरी चौतारी, पाटीपौवालाई अतिक्रमण हुनबाट बेलैमा बचाउन नसक्ने हो भने भावी सन्ततीले इतिहासमा चौतारी पनि थिए भनेर पाठ्यक्रममा पढ्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।

चौतारा मासिएपछि समस्या भएको नारायण नगरपालिका दैलेखका मणिराम रेग्मी बताउँछन् । गाउँठाउँकै विकासको पहिचान गरी अघि बढ्ने जिम्मा पाएको स्थानीय तहले पनि यतातिर चासो नदिँदा चौतारी मासिन थालेको उनी बताउँछन् । यस्तै, समुदायसँग बसेर आवश्यकताको पहिचान गरिरहेको नारायण नगरपालिका दैलेखकी उपमेयर तप्तकुमारी थापा बताउँछिन् ।

‘पाटीपौवा, चौतारी, मठमन्दिरको आवश्यकता पहिचान भएको छ,’ थापा भन्छिन्, ‘हामी नीति नै ल्याएर अघि बढ्छौँ । सामाजिक सांस्कृतिक रूपमा मात्र नभएर आध्यात्मिक हिसाबले पनि चौतारीको ठूलो महत्व छ ।’ गाउँघरमा शीतल हावा मात्र होइन स्याउलासमेत चौतारीबाट उपलब्ध हुन्छ । आधुनिक विज्ञानले पनि पिपलबाट प्रशस्त मात्रामा अक्सिजन पाइने पुष्टि गरेको छ । ‘धर्म गर्नु छ भने चौतारो लगाउनू’ भन्ने पुरो भनाइ सुन्दै आएको अहिलेको पुस्ता नै विकासका नाममा चौतारी विनाशमा लागेको छ ।

यसले सांस्कृृतिक मात्र नभएर पर्यावरणीय प्रभावसमेत चुलिँदै जाने जानकारहरू बताउँछन् । ‘बाटो बनाउँदा, विद्युत् विस्तार गर्दा अरु बोटबिरुवा मासिए,’ दैलेखको आठबीस नगरपालिकाका रमेश बडुवाल भन्छन्, ‘गाउँलाई स्वच्छ बनाउने यिनै वर–पिपल हुन् । धेरै रुख बुढा भैसके । यिनको विकल्पमा अरू वर–पिपल हुर्काउन जरुरी छ ।’ धार्मिक आस्थासँग जोडिएको, प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण र गाउँको पहिचानसँग जोडिएका वर–पिपलको संरक्षण सबै तहबाट हुुुनुपर्ने उनको धारणा छ ।

‘पिपल रुख मात्रै नभएर शितलता प्रदान गर्ने बिरुवामध्येकै शुद्ध वृक्ष भएको कलाकार प्रेमदेव गिरी बताउँछन् । हिन्दू धर्ममा पिपल वृक्षको विशेष महत्व रहेको र यसलाई विश्ववृक्ष, चैत्यवृक्ष अथवा वासुदेवको नामले पनि चिनिन्छ,’ उनले भने, ‘पिपल भनेको एउटा आँगन हो । सार्वजनिक ठाउँ र बाटोघाटोको शोभा बढाएर शितलता दिएको वृक्षलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहन्छ ।’

वर–पिपलका चौतारी गाउँघरका ‘कुलर’

वर–पिपलका चौतारी सहरका कुलर, एसीजस्तै रहेको र यसको संरक्षणमा ध्यान दिनुपर्ने प्रदेश आयुर्वेदिक अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशका निमित्त प्रमुख डाक्टर शंकर रिजाल बताउँछन् । ‘हामीले आधुनिकताको नाममा पुराना र राम्रा अभ्यास भुल्न थाल्यौं भने के हुन्छ ? गाउँका चौतारा, पाटीपौवा हाम्रा एसी, कुलर हुन्,’ उनले भने, ‘यिनको संरक्षण आवश्यक छ ।’ रिजालका अनुसार कुनै जुगजमाना थियो, जतिबेला धर्म कमाउन बाजेबराजुले डाँडामा वर–पिपल रोप्थे ।

पछिल्लो समय त्यो क्रम लोप हुँदै गएको छ । अहिलेको पुस्ता प्राचीन, धार्मिक, सांस्कृति र पर्यावरणीय महत्व बोकेका चौतारी मास्न प्रतिस्पर्धा गरिरहेको छ । यस्ता चौतारीको संरक्षणमा स्थानीय, प्रदेश र संघ सरकारले बेलैमा ध्यान दिुनपर्ने हुन्छ । यसैगरी हिन्दू धर्म–संस्कृतिमा वरको बोटलाई पूज्य मानिएको वरिष्ठ आयुर्वेद डाक्टर रामबहादुर बोहरा बताउँछन् । उनका अनुसार अलग–अलग देवअनुसार फरक–फरक बोट उत्पन्न भएका छन् ।

वरको जरामा पूजा गर्नाले फल प्राप्त हुने उल्लेख छ । यस्तै वर–पिपल दुवैको पूजा गर्दा सन्तान सुख हुने भनिएको छ । तर विडम्बना भन्नुपर्छ, धर्म, संस्कृति, इतिहास र पर्यावरणीय महत्व बोकेका वर–पिपलका चौतारीहरू डोजरे विकासको निसाना परी मासिँदै गइरहेका छन् । जलवायु परिवर्तनमा समेत विशेष भूमिका रहने यस्ता वृक्षको संरक्षणमा सरकारले यथाशीघ्र ध्यान दिनुपर्ने देखिन्छ ।

स्रोत : आइएनएस-स्वतन्त्र समाचार
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १५:५७