हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका बाबजुद देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन पनि महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं