पूर्वीय संस्कृतिमा सहजरुपमा मानिने मसाज, अँगालो आदिलाई अमेरिकाको मियामीमा ‘टच रिसर्च इन्स्टिच्युट’मा वैज्ञानिक अनुसन्धान गरियो । समयभन्दा अगाडि जन्मेका शिशुहरूलाई दिनको तीन चोटि हलुका मसाज गरेपछि उनीहरूको तौल ४७ प्रतिसतले बढ्न गयो । उनीहरु बढी जागरुक भएको पाइयो ।
र, के फेला पर्यो भने मसाज गरिएका शिशुहरुको स्वास्थ्य मसाज नगरिएका शिशुको स्वास्थ्य भन्दा राम्रो भएर, उनीहरु ६ दिनअघि नै अस्पतालबाट घर गए । साना शिशु, बालबालिका, किशोर किशोरी सबैलाई भावनात्मक बल दिन बोली र छुवाइ, अँगालोको जरुरत पर्छ भन्ने कुरा सिद्ध भइसकेको न्यूयोर्कको बेल्लेभ्यु अस्पतालमा मानिसका बच्चाहरुमा एउटा अर्को अनुसन्धान गरियो ।
त्यहाँ विरामी भएर राखिएका बच्चाहरुलाई छुने, कुरा गर्ने, हाँस्ने म्वाइँ खाने अँगालो मार्ने गरियो । यो एउटा साधारण कामले त्यहाँका बच्चाहरुको मृत्युदर ५० प्रतिसतमा र्झन पुग्यो । किन होला त शिशुहरुलाई छुँदा, उनीहरुसँग हाँस्दा कुरा गर्दा यति ठूलो सकारात्मक प्रभाव पार्ने ? वैज्ञानिकहरुले यसमा धेरै अनुसन्धान गरेका छन् । हाम्रो पूर्वीय संस्कृतिमा बच्चा जन्मेपछि उसलाई मसाज गर्ने, काखीमा राख्ने चलन त यसरी गाँसिएको छ कि बच्चालाई आमा, बज्यै, काकी, फुपूहरुले छोड्दैनन् ।
एक्लै त राख्नैहुँदैन भन्ने विचारले जता जाँदा पनि सँगै बोकेर हिँड्छन् । पिठ्यूँमा बाँधेर हिँड्छन् । राति पनि एक्लै सुताउँदैनन् सुत्छन् । मसाज गर्ने चलनले बच्चाको शारीरिक वृद्धि त गर्छ नै, उसको श्वास प्रश्वास क्रिया, रक्त सञ्चार क्रिया आदिमा सकारात्मक प्रभाव पार्नुका साथै मानसिकरुपमा पनि स्वस्थ बनाउँछ । आमा वा चिनेका अनुहार नजिकै आउँदा शिशु हाँस्छ । किनभने शिशुले भावनात्मकरुपमा सहारा पाएको हुन्छ ।
कसरी मानव शरीरमा छुवाएर, म्वाइँ आदिले अहिले सकारात्मक परिवर्तन ल्याउँदा र कसरी पिटाई, वेवास्ता, घृणाले शारीरिक र मानसिक स्वास्थ्यमा समेत नराम्रो असर पर्छ ? अहिले पश्चिमी समाजमा विभिन्न अध्ययनहरु चलिरहेका छन् । प्रायः अनाथाश्रममा राखेका शिशुहरु, जसलाई अँगालो मार्ने, कुरा गर्ने, मसाज गर्ने मानिसहरु हुँदैनन्, उनीहरु भावनात्मक र शारीरिक दुवै दृष्टिकोणले कमजोर हुन्छन् ।
नबोल्ने, नमुस्कुराउने, उदास आँखाले टोलाइराख्ने, खेल्नमा रुची नराख्ने आदि बानी हुन्छ । अनाथ आश्रममा पालिएका बालबालिकाको । त्यसैगरी घरमा पनि यदि कोही शिशु अपहेलित छ, उसलाई कसैले माायाले अँगालो मार्दैन, म्वाइँ खाँदैन, कुरा गर्दैन भने त्यो शिशुलाई कुपोषण हुन्छ भन्ने पनि साबित भइसकेको छ । माया स्नेह र स्पर्शको विषयमा मानिसमा मात्र होइन, जनावरमा समेत प्रभाव पार्छ भन्ने कुरा हामीहरुले धेरै सुनेका छौं ।
तर, वैज्ञानिक अनुसन्धान गरेर नै मेरिल्याण्ड मेडिकल स्कूलका वैज्ञानिक जेम्स लिन्चले सिद्ध पनि गरेका छन् । उनले मानिसहरुका लागि उच्च रक्तचाप कम गर्ने औषधिको अनुसन्धानका लागि केही कुकुरहरुलाई छाने । कुकुरहरुमा पहिले विभिन्न माध्यमद्वारा उच्च रक्तचाप पैदा गरेर अनि त्यसपछि, त्यसलाई कम गर्ने औषधिहरुको प्रयोग गर्ने उनी र उनका वैज्ञानिक साथीहरुको अनुसन्धानको विषय थियो ।
त्यस अनुसन्धानका बेलामा के फेला पर्यो भने जब जब कुकुरलाई उच्च रक्तचाप भयो, त्यसबेला बैज्ञानिकहरुले उनीहरुलाई टाउकोमा स्नेहले सुमसुम्याएपछि कुकुरहरुको रक्तचाप त ५० प्रतिशत कम भएछ । कुकुरका साथै अन्य जनावरहरुमा पनि यो अनुसन्धान गर्दा त्यसरी नै उच्च रक्तचाप परिवर्तन भयो । उनले यसबारे विभिन्न ठाउँमा लेखे र प्रकाशित पनि गराए । तर, यस कुरामा अन्य वैज्ञानिकहरुले त्यति ध्यान दिएनन् ।
अन्य अनुसन्धानमा के देखियो भने चिन्तित र उदास भएका मानिसहरुसँगै बसेर कुरा गर्दा, भ्रमण गर्दा उनीहरुको शरीरमा ‘डिप्रेशन’ पैदा गर्ने हर्मोन कर्टिजोल कम हुन गयो । शरीर दुख्दा, बिरामी भएपछि कमजोर हुँदा आमा र बज्यैहरुले तेल तताएर मज्जासँग शरीरमा मालिस गर्दा आनन्दको अनुभव भएर निन्द्रा लागेको कुरा प्रायः हामी सबैलाई थाहा छ । यसको वैज्ञानिक अनुसन्धान (पश्चिमी देशमा) पर्याप्त भएको छ र मसाजले शारीरिक एवं मानसिक रुपमा पर्ने सकारात्मक प्रभाव सिद्ध भइसकेको छ ।
हामी कहाँ पनि सुत्केरी महिला र साना शिशुलाई तेल दल्ने आदिले संस्कृतिमै स्थान पाएका छन् । आजकल त विभिन्न स्पा र आयुर्वेदिक औषधि गर्ने स्थानहरुमा पनि चिकित्साको एउटा पद्दति नै मानिन्छ मसाजलाई । तर, स्पर्श, अँगालो आदिले असर पार्छन् भन्नुको अर्थ औषधि नगरेर बस्नु, डाक्टरको सल्लाह नलिनु भन्ने चाँहि पक्कै होइन । यस लेखको उद्देश्य हाम्रा लागि स्पर्श र माया, स्नेह र संवेदना पनि निकै महत्वपूर्ण छ भन्ने देखाउनु मात्र हो ।
डा. अरुणा उप्रेती । काठमाडौं