विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिक तहमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ । विद्युतका कारण हुने दुर्घटना र आगलागीका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नागरिक तहमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र सिडिएमको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत आज आयोजित शहरी विपद पूर्व तयारी सम्बन्धि निजी क्षेत्रसंगको समन्वय कार्यशालामा प्रस्तुतिकरण गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले विद्युत जडान जस्तो संवेदनशील कामलाई नागरिकहरुले गम्भीररुपमा नलिँदा दुर्घटना निम्तिरहेको बताए । उनले सानो लापर्बाहीले पनि ज्यानै जाने जोखिम हुने भएकाले पूर्व तयारी र सचेतनामा जोड दिए ।
पाण्डेले भने, “अहिले के भइराछ भने जति घरहरु बनिरहेका छन् नि, विद्युतलाई लाष्टमा राखिएको छ । घर बनाउँदा यो अति संवदेनशील चिज हो भन्ने सोचाई छैन । तर, विद्युतले हुने दुर्घटना सबैभन्दा खतरनाक र दुःखदायी हुन्छ ।
त्यसकारण विद्युतीय दुर्घटना हुनबाट रोक्नलाई घर बनाउने क्रम संगसंगै विद्युत सम्बन्धि ज्ञान लिएर वा विद्युत सम्बन्धि ज्ञान भएको मान्छेसंग सम्पर्क गरेर मात्रै काम गर्नुपर्दछ ।”
उनले विद्युतीय झट्का, विद्युतीय संरचनाहरुले एकले अर्कालाई छुँदा वा भुइँमा छुँदा दुर्घटना निम्तिने बताए । “जसले काम गराउने हो उसमा सचेतना हुनुपर्यो, जसले काम गर्ने हो उसमा पनि सचेतना हुनुपर्यो र देखिएका दुर्घटना हुने सम्भावित क्षेत्रका बारेमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउनुपर्यो,” पाण्डेले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण तथा विपद समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झना, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रबक्ता टंकबहादुर धामी, निजी क्षेत्रका विभिन्न संघसंस्था, संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । कार्यक्रमको उद्देश्यमाथि युनिसेफका नरेश निदालले प्रकाश पारेका थिए ।
सत्यपाटी संवाददाता । बाँके