सूचनाको शक्ति - The Power Of Information

        

३ जिल्ला संयोजक चयन गर्न राप्रपाले माग्यो अनलाइन आवेदन

राप्रपाले मोरङ,रौतहट र दाङ जिल्लाको संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ ।

पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निष्क्रिय, विवादित र गतिविधि शून्य रहेको भन्दै ती जिल्लाको कार्यसमिति विघटन गरेको थियो ।

कार्यसमिति विघटन भएको जिल्लामा पार्टीको नेतृत्व गर्न पार्टी भित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभएपनि नेतृत्व गर्ने क्षमता भएकाहरुका लागि आवेदन खुला गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नवीन राप्रपा निर्माण गर्ने निर्णय गरेको र सोही स्पिरिट अनुसार नयाँ ढंगबाट जिल्ला नेतृत्व चयन गर्ने अभ्यास प्रारम्भ भएको उनले बताए ।

अनलाइन फाराममा नाम, स्थायी ठेगाना, हालको ठेगाना, जन्म मिति, लिङ्ग, शैक्षिक योग्यता, सम्पर्क नम्बरका अलावा तीन सय शब्दमा नबढाइ कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फाराम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १८:०९