नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् ।
तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ । तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ । इलाम, नवलपुर, धरान, ओखलढुङ्गा लगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन् । यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताए । यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकत्सक डा पवनकुमार शाहले केही ‘टिप्स’ दिएका छन् । उनका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ ।
सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उनले बताए । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ । रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उनको भनाइ छ । काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ ।
यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ । हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने उनले बताए । यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो ।
प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ । लक्षणअनुसारको उपचार हुने भन्दै डा शाहले तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, कतिपय खुट्टामा असर परेको बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि कम हुँदै जाने बताए । यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने उनको सुझाब छ ।
लु लाग्दा देखिने लक्षण
पछिल्लो दिन देशभर गर्मी बढ्दै गएको छ । मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ । यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ । यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावासहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ । यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ ।
लक्षण
- हृदयको गति तीव्र हुने ।
- श्वासप्रश्वास र रक्तचाप कम हुने ।
- शरीरबाट पसिना ननिस्किने ।
- टाउको अत्यधिक दुख्ने ।
- चक्कर लाग्ने, अचेत हुने ।
- शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने ।
- छाला सुक्खा, रातो र तातो हुने ।
यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं