सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर २ की मैया थापाले आफ्नी सासुसँग तीन वर्षपछि भेट गर्न पाइन् ।
सासुलाई भेट्ने मन हुँदाहुदै पनि शारीरिक अशक्तता र भौगोलिक विकटताका कारण थापाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ बस्दै आएकी सासु माइली थापालाई पछिल्लो तीन वर्षभन्दा बढी समयदेखि भेट गर्न पाएकी थिइनन् ।
त्यसो त सासु र बुहारीको घर वारि र पारि हो । तर बीचमा झ्याडी खोलामाथिको पुल लामो समयदेखि जीर्ण भएका कारण उनीहरुबीच भेट हुन सकिरहेको थिएन । गत शनिबार भने सासु बुहारीको भेट भएको छ ।
तीन वर्षपछि बुहारी आफूलाई भेट्न आउँदा सासु माइली दंग मात्र भइनन् गहभरि हर्षको आँसु झार्दै भन्न थालिन्, ‘यो पुलको कारण हामीबीच भेटघाट भयो ।’ सासुबुहारीको गाउँ जोड्न झ्याडी खोलामाथि नयाँ पुल बन्यो ।
सोही पुल हुँदै बुहारी मैया थापा सासुलाई भेट्न गएकी हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो ।
४० लाखको लागतमा निर्मित पुलको उद्घाटन नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरे । पुल निर्माणपछि आवतजावतमा सहज भएका कारण स्थानीय गदगद छन् । पुल नहुँदा वारीबाट पारी र पारीबाट वारी आउन घण्टौं लगाएर पैदल हिँड्नुपर्ने बाध्यता झेल्दै आएका स्थानीयले पुल बनेपछि राहत महशुस गरेका हुन् ।
सत्यपाटी संवाददाता । सिन्धुपाल्चोक