नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको तर्क थियो।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरुलाई हेप्ने गरेको गुनासोसमेत गरे।
संसदीय व्यवस्थामा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुने गरी अघि बढनुपर्ने उनले बताए।
उनले भने, ‘अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको देखिरहेको हुँदैन। स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने? यावत कानुन बनाउने अधिकार हामीसँग छ। त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौँ। त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ। जे गरे पनि हुन्छ भन्छ।
किनभने पार्लियामेन्ट सिष्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ। र, हामी कहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन। त्यसैले माननीय सदस्यहरुलाई मेरो आग्रह चाँही यो बजेटत अव पास भएर जान्छ। मन्त्रीलाई पार्दिनु है भनेर भन्नुपर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो। बजेट प्रणालीमा सुधार गरौँ।’
सत्यपाटी संवाददाता । काठमाडौँ