सूचनाको शक्ति - The Power Of Information

        

भारतमा सडक दुर्घटना हुँदा एकै परिवारका चार नेपालीको मृत्यु

दुर्घटनाग्रस्त कार

कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमास्थित चकरपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै एकै परिवारका हुन् । शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहरू नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाएको नरबहादुरको परिवार

उनीहरू पूजाका लागि नेपाल फर्किरहेका थिए । पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो । एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । ‘उहाँहरू कामको शिलशिलामा खटिमामा बस्थे, उल्टाखाममा पनि जमिन छ,’ भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष उत्तमप्रसाद भट्टले भने, ‘आउजाउ गरिरहन्थे ।’ एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमग्न छ ।

कारले ठक्कर दिएका स्कुटर

मृतक नेमबहादुरका छोरा ललितको पनि अघिल्लो वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नईमा काम गर्छन् । घटनाबारे जानकारी पाएपछि उनीहरू खटिमा फर्किरहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । छोराहरू खटिमा पुगेपछि हिन्दु परम्परा अनुसार शारदा घाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार ११:१८