सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कविता : जङ्गल र रात

रातमा पनि जङ्गलजस्तै देखिन्छन् गामबस्तीहरु

जङ्गल पनि रातजस्तै हुन्छ
ताराहरु टिल्पिल टिल्पिल गरेझैँ
आकाशभरि देखिन्छ
आँखाभरि शून्यको एकहिस्सा चमक

राज पनि जङ्गलजस्तै हुन्छ
राजधानीतिर पसेर हेर्दा
आकाशमा बसेझैँ देखिन्छन
शासनका लगाम र सत्ताको काठी
भुइँ र माटोमा असरल्ल
तन्नामा बिस्कुन छरेझैँ
टिल्पिल टिल्पिल आँशुका दानाहरु
मान्छेका कोमनीय कामनाहरु

रातमा पनि जङ्गलजस्तै देखिन्छन् गामबस्तीहरु
मकैका बोट र धानका बालाहरुले
छेक्छन् भोकको ज्वाला
सहरमा हुँदैन त्यस्तो
सहरमा सडक हुन्छन्
र सडकमा मानिस सुत्छन्
सहरमा सत्ता बस्छ
र भोक
आयात गरेर वितरण गर्छ
र पौरख
निर्यात गरेर पेट भर्छ

सडकको उज्यालोमुनी
अँध्यारा चेहराहरु देख्दैनन्
राज गर्नेहरु
गामतिरको रात र जङ्गलजस्तै
अँध्यारो मनका हुन्छन्
राज गर्नेहरु
उज्यालो बोक्छन् र अँध्यारो पोख्छन्
सत्तामा राज गर्नेहरु

गाममा मानिसहरुले
आफ्नै मनको टुकी बालेर
धैर्यतापूर्वक पर्खिरहन्छन् बिहानलाई
खोजिरहन्छन् घामको आगमन दिशा
क्षितिज परसम्म रक्तिम आभाको गोरेटोमा
बगाई रहन्छन् आँखामा नदीहरु
सुनिरहन्छन् राज गर्ने पण्डितहरुको
उत्सर्गको महापुराण
हाम फाल्छन नदीमा
र पाषाण समयको भेलमा तैरिरहन्छन्
रश्मी हेरेर नाङ्गै
पर्खिरहन्छन् समयको तातो वाफ
र निर्यात गरिरहन्छन् सहरतिर
भोक विरुद्धको मौन जुलुस
सहर र सत्ताको पेटको शब्दार्थ
खोज्दै रातको अँध्यारोजस्तै
सत्ताको जङ्गलमा उम्रने सपनाका पहाडहरु

एकझोक्का हावाले पातपतिङ्गर उँडाएझैँ
बयली खेल्दै सकिन्छ युगको कथा
जङ्गलभन्दा निस्पट्ट अँधेरो रातमा
सगरमाथाको हिउँ पग्लिएर
मस्तिष्कका नसाहरु ठिमुरिन्छन्
तुसारोले खाएका बिरुवाझैँ
यावत चेतनाका तन्तुहरु
विचारका गल्छेडाहरु
जङ्गलजस्तै गाउँ बस्तीहरुमा
घुमी हिँड्छ अनर्गल किम्वदन्ती बोकेर
अनेक भाष्यहरुको शब्दकोष

जङ्गलमा झैँ भयातुर भयो रात
जङ्गलमा झैँ हिंसातुर भयो राज

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार ०७:५२