रजस्वलाको एघारौँ दिन चारैतिर झलमल्ल उज्यालियो मेरो संसार । घर जान पाएँ । खुसीले गद्गद भएँ । घरभित्र पस्नेबित्तिकै ऐना हेरेँ । अझै सौन्दर्यता झल्कियो अनुहारमा । फुलिरहेको फूलजस्ती देखेँ आफैँलाई । उज्याल चम्किलो मुहार, पूर्णिमाको चाँदजस्तो । परिवर्तनशील उमेर, बाल्यावस्थाबाट यौवनतिर तानिएँ ।
रङ्गीनमय टीनएज । हर्मोनको विकास हुँदै गर्दाको समयमा हरेक चीजमा बद्लाब आउँदो रहेछ । तनमा बद्लाब, मनमा बद्लाब र मस्तिष्कमा पनि बद्लाब । मनमा अनेकौँ कल्पना सजाइँदो रहेछ । कोपिलाबाट फक्रिरहेको फूलजस्तो, प्रतिदिन अनौठो अनुभूति । उकालिँदै गरेको उमेरको स्वतन्त्र मन र अनेकौँ सपनाहरु । श्रृङ्गारले लिपिबद्ध हुन मन पर्ने ।
विपरीत लिङ्गीप्रतिको आकर्षण । नजानिँदो किसिमले हेर्न मन लाग्ने ह्यान्ड्सम केटाहरु । पुरmष देख्दा लाज लाग्ने । आफैँभित्र काउकुती लागेको जस्तो । ह्यान्डसम् केटा बोल्न आउँदा मनमनै खुसी लाग्ने । बोलूँबोलूँ लाग्ने । मस्केर बोलिने । प्रकृतिको उपहार अपरम्पार ! विपरीत लिङ्गीप्रतिको आकर्षण चुम्बकजस्तो ।
यसका बारेमा न सिकाउनुपर्ने, न पढाउनुपर्ने, आफैँभित्रबाट उत्पन्न हुँदो रहेछ । रजस्वला चोखिएर पुनः स्कुल जानुपर्यो । अब कसरी अनुहार देखाउने ? त्यस दिनको परिघटना कसरी फेस गर्ने ? सम्झेर अत्यधिक सर्माएँ । अनुहार रातो बनाउँदै गएँ स्कुल । एकछिन कसैको अनुहारमा हेर्नै सकिनँ । कसैले केही भनेन, सबै मौन थिए ।
बिस्तारै एकपछि अर्को गर्दै साथीहरु महिनाबारी भए । बल्ल यसबारेमा अलिक सामान्य लाग्दै गयो । कक्षा आठमा थियौँ । केटा साथीहरुको जुँगाको रेखी बस्यो । सर्लक्क तानिएर अग्ला हुँदै गए । बोली धोत्रो हुँदै गयो । केटाहरु पनि कपाल स्टाइलिस पार्थे । कपालको कटिङ नै फरक । केटाकेटी सबै समकालीन, एकै उमेरका । साथीसाथीमै जिस्किन्थ्यौँ, चल्थ्यौँ । हामी अगाडिको बेन्चमा बस्थ्यौँ ।
पछाडिको बेन्चबाट केटाहरुले कपाल तान्दिन्थे । कपालमै कागज बाँधिदिन्थे । जिस्क्याउँथे । हाँस्थे । हामी बाहिरी प्रतिवाद गथ्र्यौं । केटाहरुको क्रियाकलाप नकाथ्र्यौं । ‘काम पाउँदैनौ मोराहरु’ भन्थ्यौँ । भित्री मनमा भने रमाइरहेका हुन्थ्यौँ । आनन्द लिइरहेका हुन्थ्यौँ । सायद त्यो मनको माग होला । खै कस्तोकस्तो फिलिङ ! उमेरको तरङ्ग, कुरकुरे बैँस ! कुकुरको पुच्छर घुमेको देख्दासमेत हाँसो लाग्ने !
एक दिन कक्षामा रोशनले जिस्काउँदै भने, ‘रेखा ! तिमी त हामीभन्दा छिटै ठूली भयौ । मस्त जवान देखिन्छ्यौ !’
मैले रोशनलाई जवाफ फर्काउँदै भनेँ, ‘तिमीहरुजस्तो भुइँडल्ले हो र ? म त विकासे परेँ !’
केटा साथीहरुले गलल्ल हाँस्दै भने, ‘रेखा ! तिमी विकासे ? के सुन्नुपर्यो !’
त्यसपछि मलाई सधैँ विकासे भनेर जिस्क्याउन थाले केटाहरुले । विकासे भनेरै बोलाउन थाले । हामी स्कुलको धारामा पानी पिउन जान्थ्यौँ । साथीसाथीमै पानी छ्यापाछ्याप गथ्र्यांै । छाती लछप्प भिज्थ्यो । भर्खर उम्रिएका टुसाहरु भिजेको कपडाबाट छर्लङ्ग हुन्थे । आपसमा चल्ने, जिस्किने मरीमरी हाँस्ने गथ्र्यौं । सामान्य कुरामै खित्का छाडेर पेट मिचेर हाँस्थ्यौँ ।
कहिले त हाँस्दाहाँस्दै पिसाब नै चुइएलाजस्तो हुन्थ्यो । रानीतलाउ छेउमै बाँधिएका घोडाहरु हिलिली हाँसेका जस्तो गर्थे । घोडाको त्यो आवाज सुनेर पनि हाँसो लाग्थ्यो । स्कुल नजिक घोडाहरु बाँधिएका हुन्थे । सधैँ तिनको सम्भोग देखिन्थ्यो । घोडाले निकालेको संवेदनशील लामो अङ्ग देख्दा भुतुक्कै हुन्थ्यौँ । लाजले गाला रातो हुन्थ्यो अनगिन्ती कौतूहलता मनमा खेल्थे ।
के सबै पुरुष जातिको यस्तै हुन्छ होलाजस्तो लाग्थ्यो । सम्भोग आनन्दायक हुन्छ होला कि पीडादायक ? मान्छेको पनि यति ठूलो हुँदो हो त पक्कै गाह्रो हुन्छ होला ! घोडाघोडीको लामो समयसम्मको यौनक्रीडा रहस्यमय लाग्थ्यो । विभिन्न अनुमान आफैँभित्र सल्बलाउँथ्यो । आफैँभित्र प्रश्नहरु जाग्थे । अनुहार रातो–पिरो हुन्थ्यो ।
कहिले साथीहरु जिस्किँदै भन्थे, ‘तेरो हुनेवाला बुढाले पनि घोडाले घोडीलाई जस्तै माया गर्छ होला ।’
म लाजले भुतुक्कै हुन्थेँ । अनुहार रातो बनाउँदै जवाप दिन्थेँ, ‘लाज लाग्दैन मोरीहरुलाई, जे पनि भन्छन् ! बरु, तेरो हुनेवालाले चैँ त्यस्तै माया गर्छ होला नि !’
घर नजिक भएकाले हामी सधैँ घोडाहरुको सम्भोगको दृष्यसँग सामीप्य थियौँ । सधैँजसो नै तिनको सम्भोग देखिन्थ्यो । घोडाघोडीको मात्र कहाँ हो र, घोडावाला र घोडावालीहरुबीचको सम्बन्ध पनि देखिन्थ्यो । स–साना झुप्रा घरहरु । हामी त्यतै वरिपरि लुकामारी खेल्थ्यौँ । लुक्ने क्रममा कहिले कसको घर पस्यो, कहिले कसको ।
खेल्दै जाँदा दिउँसै सम्भोगमा लिप्त भइरहेका भेटिन्थे । सानो छाप्रो, ठूलो परिवार, एकै ठाउँमा बास बस्नुपर्ने बाध्यता । त्यसैले होला सबै बाहिर गएको दिउँसोक मौका छोपेका ! एक किसिमको अनौठो माहोल थियो । बाहिर घोडाहरुको रोमान्स, भित्र घोडावाला र घोडावालीको ! त्यो उमेरमा त्यस्तैमा मात्र ध्यान जाने । मन–मस्तिष्कमा त्यस्तै छाप पर्ने ।
खहरे खोलाजस्तो उर्लेको बैँस, उमेरले पारेको प्रभाव होला, अति चञ्चल थियौँ । अमिलो–पिरोप्रति भुतुक्कै हुन्थ्यौँ नुनखुर्सानीमा चुक मिलाएर खान्थ्यौँ । भोगटे साँधेको औधी मन पथ्र्यो । साथीसाथी मिल्यो, अमिलो–पिरो खायो । अमिलो–पिरोको अत्यधिक चाहना हुन्थ्यो । आत्माले कति मागेको अमिलो–पिरो ! एकपटक परीक्षामा म्यामले स्कटको जेब छामिन् ।
चिट खनतालासी गरिन् । जेबमा पिसेको नुनखुर्सानी भेटियो । प्रायः हामी हापछुट्टीमा त्रिभुवन चोक जान्थ्यौँ सबै साथी मिलेर, अमिलो–पिरो चाट खान । चाट अति मन पर्ने ! चाटवाला भैयाले उधारोसमेत खुवाउँथ्यो । मोटे काले अधबैँसे चाटवालाले चाट बनाउँदै थियो । गर्मीमा असिनपसिन । साथी सायदाले मजाक ‘अब यही बिहे गर्नुपर्यो, चाट खान पाइन्छ !’
हामी मरीमरी हाँस्यौं । मैले ‘सायदा, तिमीले बिहे गर्ने ! ल ल म पनि भिनाजु भनेर चाट खान आउछु । फ्रिमा पाइहालिन्छ, पैसा तिर्नै पर्दैन !’
फेरि, हामी गलल खित्का छाडेर । हामी हाँसेको देखेर चाटभैयाले ठूला आँखा पल्टाउँदै हेर्यो । पन्युले पार्दै तावा ठटायो । टमाटर, उसिनेको आलु र उसिनेको केराउ तावामा अमिलो–पिरो राख्यो । हरियो खुर्सानी र प्याज मसिनो गरी काटेर मिसायो । चाट तयार भयो । त्यो उसले सालको हरियो पातमा राखेर हाम्रा हातहरुमा दियो । हामी खान लाग्यौं ।
मीठो चाट ! जिब्रो पड्काउँदै खायौं । हाम्रो उमेरको माग, अमिलो–पिरो खान मन पर्ने । अझै छोरीहरुको त चाहत नै अमिलो–पिरो । हामी छ जनाले चाट खाइसक्यौं । खुद्राखुद्री पैसा निकालेर चाटको पैसा तिर्र्यौं । जिस्किँदै खाइरहँदा ढिला भयो । स्कुल लागिसकेछ । पढाइ नै सुरु भएछ । क्लासमा सरले छैटौं पिरियड पढाउँदै हुनुहुन्थ्यो, हामी पुग्यौं ।
मैले डराउँदै भने ढोकाबाटै, ‘मे आइ कम इन, सर ?’
सरले भन्नुभयो, ‘नो, स्टे इन आउट साइट ।’
हामी डरले रातो–पिरो भयौँ । बाहिर प्रचण्ड घाममै बस्याँै । खलखली पसिना आयो । ढिला पुगेकाले सजाय भयो । क्लास बाहिरै बस्याँै सरको पिरियडभरि । पिरियड सकियो, सर बाहिर निस्किनुभयो । सरले सोध्नुभयो, ‘किन ढिला गरेको ?’
हामी सबैले टाउको निहुर्यायौँ । नीलो–कालो भयौँ । मौन नै रह्यौँ । सरले सानो सुरिलो लठ्ठी लिनुभयो र हामीतर्फ हेरेर हात थाप्न भन्नुभयो । हामीले आफ्ना कलिला हात फैलायौँ । सरले पालैपालो सबैलाई एकएक लठ्ठी हानेर हातमा सुम्ला बसाल्नुभयो । दुखेर मुर्छा पर्र्यौं । चाटको मजा स्कुलमा निस्कियो । चुप भएर क्लासमा पस्यौँ । क्रमशः
कल्पना खरेल । उपन्यासकार