सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए चार बालबालिका

कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि चार जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको पाँच हप्तापछि बालबालिका भेटिएका हुन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक–एक जना पाइलट र को–पाइलट रहेका थिए ।

विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो । यी बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताएका छन् ।

सिंगल इन्जिनको सेसना(२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर गत मे १ मा दुर्घटनाग्रस्त भएको थियो । तीन बालिका र एक बालकका हजुरबुवा नारसिजो मुकुटुवीले उद्धारको समाचार थाहा पाएलगत्तै आफू निकै खुसी भएको रोयटर्सलाई बताएका छन् ।

कोलम्बियाली सेनाले सार्वजनिक गरेको तस्बिरमा सैनिकको समूहले घना जंगलको बीचमा ती बालबालिकालाई भेटेको देखिएको छ । बालबालिकाले जंगलमा आफैंले आफ्नो प्रतिरक्षा गर्दै यतिका दिनसम्म बसेको पनि राष्ट्रपति पेट्रोले जानकारी दिए ।

उद्धार टोलीले कुकुरको सहायतमा बालबालिकालाई भेटेको हो । उनीहरूले बालबालिकाले खाएर फालेको फलफूलका टुक्राहरू समेत बाटोमा भेटेका थिए । उद्धारका लागि कोलम्बियाले सेना र वायु सेनाले हेलिकप्टर र जहाजको समेत सहयोग लिएको थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १५:११