झण्डै २ वर्ष देखीदेखी निर्माणाधिन अवस्थामा रहेको बाँकेको परसपुर–गौघाट सडक खण्ड अन्तरगत ‘सिगाउँ’ स्थित किरण नाला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेटबाट उक्त पुल निर्माणको काम सुरु गरिएको थियो । तत्कालिन समयमा पुल निर्माणका लागि कुल ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो ।
२०७७ फागुन १९ गते ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीले २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । ठेकेदार कम्पनी ‘गल्वा÷सिद्धार्थ दर्शन जेभी’ ले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थपिएको थियो ।
गत मंसिरमा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुँदा त्यस क्षेत्रमा पुगेर अलपत्र अवस्थामा रहेको उक्त पुल निर्माण कार्य पुरा गराउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिनिधि सभाको सांसदमा निर्वाचित भएपछि उनले ठेकेदार कम्पनी, सम्बद्ध सरकारी निकाय लगायतलाई ताकेता गरेपछि अहिले पुल निर्माणको कामले सार्थकता पाउन लागेको हो ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त पुलको शुक्रबार ढलान गरिदैछ । ठेकेदार कम्पनीका प्रतिनिधिले ढलानका लागि आवश्यक तयारी पुरा गरेको जनाएका छन् ।
निर्माणाधिन पुलको बिहीबार स्थलगत निरीक्षण गर्दै काँग्रेस सहमहामन्त्री एवम् सांसद राठौरले आफुले चुनाव प्रचारका क्रममा पुलको दयनीय अवस्था देखेर तत्कालै निर्माण कार्य अगाडी बढाउन ठेकेदार र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेको स्मरण गरे ।
सत्यपाटी संवाददाता । बाँके