सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसमा किचलो

कांग्रेसमा बढ्यो द्वन्द्व, विशेष महाधिवेशन कति सम्भव ?

विशेष महाधिवेशन पक्षधरले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको संख्या पुर्‍याएर कारण खुलाएर लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ ।

अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतर समूहबीच होइन, आफूहरूलाई युवा भनिरहेका नेताहरू र पाका नेताहरूबीच द्वन्द्व बढीरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार तथा नेताहरू प्रदीप पौडेलको मौन समर्थनमा डा.गोविन्द पोखरेल, मधु आचार्यसहितका केही केन्द्रीय समितिमा नरहेकाहरू नेताहरूले पार्टीमा शुद्धिकरण अभियान नै चलाएका छन् ।

त्यो शुद्धिकरण अभियान सभापति शेरबहादुर देउवा र संस्थापनविरुद्ध मात्रै होइन, इतरका केही नेताहरूविरुद्ध हो । इतरको नेतृत्व गरेर १४ औँ महाधिवेशनमा सभापतिमा प्यानलै बनाएर देउवाविरुद्ध लडेका डा. शेखर कोइरालासँग पनि महामन्त्रीद्वय थापा र शर्मा सन्तुष्ट छैनन् । गठबन्धन सरकारमा मन्त्री सिफारिसमा थापा र शर्माले युवाको नेतृत्व गर्दै प्रदीप पौडेललाई र सहमहामन्त्री जीवन परियारलाई मन्त्रीमा सिफारिस गर्नुपर्ने बताएका थिए ।

परियारलाई गराएपछि दलितको प्रतिनिधित्व पनि हुने उनीहरूको सुझाव थियो । उनीहरूको सुझाव कोइरालाले मानेनन्, त्यसपछि झन असन्तुष्ट भएका छन् । त्यो असन्तुष्टिको पारो नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई कारबाही गर्ने विषयमा झन् चुलिएको छ । पदाधिकारी र कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय शर्मा र थापाले निलम्बन गर्नुपर्ने बताएका थिए ।

त्यो उनीहरूको प्रस्ताव देउवाले त स्वीकारेनन् नै, नेता डा. कोइरालाले पनि महामन्त्रीद्वयलाई यस विषयमा साथ दिएनन् । यसपछि महामन्त्री थापा देउवाविरुद्ध सार्वजनिक कार्यक्रममै बोल्न सुरु गरेका छन् । थापाले सभापति देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरूले सहेर बस्न नसक्ने बताइरहेका छन् । महत्वपूर्ण निर्णय गर्दा महामन्त्रीहरूसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएको भन्दै नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने थापाको भनाइ छ ।

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनमा शुक्रबार महामन्त्री थापाले भनेका थिए, ‘गणेशमान र बीपी कोइरालाले बनाएको पार्टीलाई बदल्नुपर्छ । कांग्रेस कसैको प्राइभेट कम्पनी होइन । कांग्रेस बदल्ने गुटलाई बलियो बनाउँदै जाऔं, नबदल्ने गुटलाई कमजोर बनाउँदै जाऔं । कुनै विषयको निर्णय गर्दा आम जनताले के भन्छन् भन्ने सोच्नुपर्नेमा पार्टीले गर्ने अहिलेको निर्णय प्रधानमन्त्री हुन्छु कि हुन्न भन्नेमा केन्द्रित छ ।’

थापाले भने, ‘पार्टी सहभागी सरकारले गम्भीर, महत्वपूर्ण दीर्घकालीन महत्व र जनचासोका विषयमा निर्णय गर्दा पनि पार्टीमा छलफल हुन्न ।’ रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयमा थापा र शर्मासहितका युवा नेताहरू असन्तुष्ट छन् । पार्टीको आधारभूत मान्यतासँग बाझिने गरेर गरेका निर्णय पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था आएकोले यसलाई रोक्नुपर्ने तर्क महामन्त्रीद्वयको छ ।

नेतृत्वले गरेको गलत निर्णयको भारी बोकिरहने हो भने थेग्न नसकिने उनीहरूको भनाइ छ । त्यसको जवाफ देउवाले शनिबार दिएका छन् । देउवाले कसैको विरोध गरेर, कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने नबन्ने बताए । नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको जिल्ला सम्मेलनमा थापाप्रति लक्षित गर्दै देउवाले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको बताए ।

उनले भने, ‘काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् । बिरोध गरेर पार्टी बन्नेवाला छैन ।’

देउवाले थप भने, ‘पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’ अहिलेका विषयमा डा. शेखर मौन छन् ।

देउवा र महामन्त्रीद्वय एक अर्कालाई ठाउँमा ल्याउने प्रयासमै छन् । देउवा पाँच वर्ष पेलेरै लैजान चाहन्छन् । अन्य उपाय लगाएर देउवालाई तह लगाउन नसकेपछि विशेष महाधिवेशन बोलाएर बीचमै हटाउने दाउमा छन् गगन र विश्वप्रकाश । त्यसका लागि उनीहरूले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनसमेत सुरु गरेका छन् ।

विशेष महाधिवेशन कति सम्भव ?

कांग्रेसमा बेलाबखत विशेष महाधिवेशनको माग महत्वका साथ उठाइए पनि ७० वर्षभन्दा लामो इतिहासमा विशेष महाधिवेशन एकपटक मात्र भएको छ । २०१२ सालमा भएको छैटौं महाधिवेशनबाट सभापतिमा सुवर्णशमशेर राणा चयन भएका थिए । त्यसको दुई वर्षमै २०१४ सालमा विशेष महाधिवेशन गरेर बीपी कोइराला सभापति चयन भएका थिए ।

त्यसपछि अहिलेसम्म विशेष महाधिवेशन भएको छैन । विशेषगरी १० वैशाखमा भएको उपनिर्वाचनपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको आन्तरिक तयारी गरेका छन् । नेपाली कांग्रेसको विधान २०१७, दशौँ संशोधन अनुसार विशेष महाधिवेशन बोलाउन दुई विधिबाट मिल्छ । पहिलो, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा र दोस्रो केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा ।

केन्द्रीय समितिले विशेष महाधिवेशनबारे निर्णय गर्ने परिस्थिति देखिँदैन । विशेष महाधिवेशन नचाहने सभापति शेरबहादुर देउवासँग केन्द्रीय समितिमा ८२ प्रतिशत बहुमत छ । विधानको दफा १७ को उपदफा २ मा महाधिवेशन कार्यविधिले विशेष महाधिवेशन आह्वान गर्न दोस्रो विकल्प दिएको छ । दोस्रो विधिमा ‘केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा’ विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’ विशेष महाधिवेशन पक्षधरले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको संख्या पुर्याएर कारण खुलाएर लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ ।

गत महाधिवेशनमा सभापतिमा डा.शेखर कोइरालाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मत प्राप्त गरेका थिए । १४ औँ महाधिवेशनका चार हजार ७४३ जना प्रतिनिधि थिए । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले दुई हजार ७३३ मत पाएका थिए । प्रतिस्पर्धी कोइरालाले १ हजार ८५५ मत पाएका थिए । महाधिवेशन प्रतिनिधिबाट ४० प्रतिशतको हस्ताक्षर पुर्याउन १ हजार ८९७ जना महाधिवेशन प्रतिनिधि आवश्यक पर्दछ ।

यदी डा. शेखर तयार भए भने संस्थापनका केही प्रतिनिधि आफ्नो पक्षमा पारेमा संख्या पुग्न सक्छ । तर, कोइराला तत्कालका लागि विशेष महाधिवेशनका लागि तयार नदेखिएकाले त्यति सम्भव हुने देखिन्न । किनकि देउवाले १५ औँ महाधिवेशनमा आफू सभापतिमा प्रतिष्पर्धा नगर्ने भन्दै डा. कोइरालालाई सघाउन संकेत दिएका छन् । यसले डा. कोइराला मौन छन् । उनी तयार नभए तत्कालका लागि विशेष महाधिवेशनका लागि आवश्यक संख्या पुग्ने अवस्था त्यति देखिन्न ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०९:०८