सूचनाको शक्ति - The Power Of Information

        

मान्छे शहर पसे, विकास गाउँतिर

जनगणना २०७८ अनुसार काभ्रेको भुम्लु गाउँपालिकामा १५ हजार ६७८ जना रहेको तथ्यांक सार्वजनिक भए पनि गाउँपालिका स्वयंले तयार गरेको भिलेज प्रोफाइलमा भने २७ हजार ५५८ को विवरण उल्लेख छ ।

मतदाता सूचीमा पनि त्यत्तिकै संख्या भएको भुम्लुका १२ हजारभन्दा धेरै नागरिक शहर केन्द्रित छन् । केही बैदेशिक रोजगारमा छन् । गाउँमा विकासका योजना तय भए पनि नागरिक नै बस्न छाडेपछि कसका लागि विकास भन्ने प्रश्न उठ्न थालेका छन् ।

‘गाउँ पातलिँदै छ, विकास थपिँदैछ,’ भुम्लु गाउँपालिकामा एमाले अध्यक्ष प्रेम लामाले भने, ‘गाउँमा सुविधा थप्दै जाऊँ, बाहिरिएका नागरिकहरूलाई गाउँ फर्काऊँ ।’ भुम्लु गाउँपालिकामा माईनस १.८० को दरले जनसंख्या घट्दो छ ।

काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा धेरै चौरी देउराली गाउँपालिकामा –३.७६ दरले जनसंख्या घटेको छ । बढेको भनिएको बनेपा नगरपालिकामा पनि १.८८ मात्रै छ । बनेपाबाहेक १२ वटा पालिकामा जनसंख्या माइनसमा गएको छ । जिल्लाकै तथ्याङ्क –०.४६ छ ।

बेथान्चोकमा–१.१०, भुम्लु –१.८०, चौरीदेउरालीमा–३.७६, धुलिखेलमा –१.५९, खानिखोलामा–१.५९, महाभारत–१.२३, मण्डनदेउपुरमा –०.६९, नमोबुद्धमा–१.१६, पनौतीमा –०.९६, पाँचखालमा –०.६५, रोशीमा –१.८२ र तेमालमा –२.८० जनसंख्या घट्दो क्रममा छ ।

बस्ती पातलिँदै जाँदा पालिकाहरूले नागरिकहरूलाई फर्काउन शिक्षा, स्वास्थ्य, रोजगार तथा अन्य अवसरको सिर्जना गर्नु आवश्यक छ । संघ र प्रदेश सरकारले स्थानीय तहमा विकास केन्द्रित गरे पनि नागरिकहरूले भने शहरी क्षेत्र र अझ धेरै विदेशिन खोजिरहेका छन् ।

जिल्लाबाट मात्रै रोजगारका लागि २० हजारभन्दा धेरै नागरिक विदेशिएका छन् भने अध्ययनका लागि उतैको नागरिक भएर बस्नेहरूको संख्या पनि बढिरहेको छ । राज्यले आफ्नै स्थानमा नागरिक अडिने वातावरण तयार गर्न सकेन भने उत्पादन ठप्प हुने र आयातका कारण मुलुक थप संकटमा पर्ने निश्चित छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ११:२२