सूचनाको शक्ति - The Power Of Information

        

चारपटकका मिस्टर नेपाल श्रेष्ठको निधन

लगातार चारपटक मिस्टर नेपालको उपाधि विजेता सरोज कुमार श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भएको छ ।

प्रजातन्त्र प्राप्ति पश्चात नेपाली शारीरिक सुगठन खेलको प्रथम अन्तर्राष्ट्रिय खेलाडी श्रेष्ठको उपचारको क्रममा बयोध्या अस्पतालमा सोमबार निधन भएको हो ।

करीब दुई महिनाअघि भारतमा ट्यूमर र किड्नीको शल्यक्रिया गरेर नेपाल फर्केका उहाँलाई एक साताअघि स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उहाँले सन् १९८५ मा श्रीलंकामा भएको एसियन बडी बिल्डिंग च्याम्पियनशिपमा नेपालको प्राधिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नुभएका थिए । ७५ केजी तौल समूहका उहाँले चालीसको दशकमा लगातार चारपटक मिस्टर नेपालको उपाधि जित्नुभएको थियो ।

नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरका पूर्व अध्यक्ष समेत रहेका उहाँ नेपाल ब्यायाम मन्दिरका आजीवन सदस्य तथा सञ्चालक समितिका सदस्य समेत हुनुहुन्थ्यो ।

नेपाली शारीरिक सुगठन खेलको विकासका लागि नेपालकै प्रतिष्ठित ’धर्म श्री’ प्रतियोगिताको परिकल्पनाकार सरोज कुमार श्रेष्ठको निधनले नेपाली बडि बिल्डिङ खेल क्षेत्रमा अपूर्णीय क्षति पुगेको प्रथम मिस्टर नेपाल तथा नेपाल ब्यायाम मन्दिर सञ्चालक समितिका शिवलाल श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार ०८:४२