सूचनाको शक्ति - The Power Of Information

        

उमेर उनन्चास वर्ष, पढाइ कक्षा एक

घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आएकी छन् । अन्य विद्यार्थीजस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आएकी छन् । घरायसी कामसँगै छोरीले पढ्नुहुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा गएर अध्ययनरत छिन् ।

सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय आउने गरेको बताइन् । विमलाले भने, ‘पहिले पढ्छुभन्दा पनि छोरीले पढ्न पाउने अवस्था थिएन । घरको काम गर्नुपथ्र्यो । अहिले घरको कामको झमेलाबाट मुक्त भएको छु, त्यसैले बुढेसकालमा भए पनि पढ्न लेख्न सिक्दैछु ।’ सामान्य रूपमा भए पनि लेख्न, पढ्नसँगै घरायसी हिसाब आफैँ गर्न सक्ने हुँदा खुसी लाग्ने गरेको उनी बताउँछिन् ।

उनले भने, ‘पहिले लेख्न, पढ्न आउँदैन थियो । छोराछोरीसँगै सानातिनामा भर पर्नुपर्ने बाध्यता थियो । आफैँ पढ्न, लेख्न जानेपछि सजिलो भएको छ ।’ घोराही–१६, सर्रा निवासी ५२ वर्षीय देवीकुमारी खड्कालाई पढ्न लेख्न आउँदैन थियो । जसले गर्दा उनलाई घरमा हिसाब मिलान गर्नेदेखि बैङ्क जाँदा भौचर भर्न समस्या हुने गरेको थियो । जसले गर्दा ति कामका लागि अरूको भर पर्नुपर्ने समस्या भोग्दै आएकी देवीकुमारीले ढिलै भए पनि ज्ञान हासिल गर्न लाज मान्नुहुँदैन भनेर विगत केही वर्षदेखि अध्ययन गर्दै आएकी छन् ।

अहिले ४ कक्षामा अध्ययन उनलाई सामान्य रूपमा पढ्न, लेख्नदेखि बैङ्कमा भौचर भर्न सक्ने भएको बताए । उनले भनिन्, ‘दुई भाइ छोरामध्ये एउटा छोरा जापानमा छ । छोराले आमालाई सम्झेर पैसा पठाउँछ तर बैङ्कबाट पैसा झिक्न सक्ने अवस्था थिएन तर पढ्न थालेपछि अहिले आफैँ पैसा झिक्न सक्ने भएको छु, बैङ्क भौचर भर्न सक्छु ।’ सुरुसुरुमा बुढेसकालमा किन पढ्नुपर्यो भन्ने श्रीमान् र छोरासमेत अहिले आफ्नो पढाइबाट खुसी हुने गरेको बताउँछिन् ।

कक्षा ४ मा अध्ययनरत देवीकुमारी भन्छिन्, ‘सुरुमा श्रीमान्सँगै छोराहरूले पढ्न जान्छुभन्दा पनि मर्ने बेला किन पढ्नुपर्यो ? घरमै बसे हुँदैन भन्थे । दिनभरि घरमा बस्नुभन्दा पढ्छु भनेर म आफ्नै जिद्दीले आएको थिएँ तर अहिले राम्रै मान्नुभएको छ, घरपरिवारका सबै सदस्यले पढ्नु पर्छ भन्नुहुन्छ ।’ नियमित पढ्न आउने गरेकी उनले ढिलै भए पनि १० कक्षासम्म पढ्ने चाहना भएको बताइन् । घोराही–१८ कै २४ वर्षीय अनिता चौधरी पनि कक्षा ३ मा पढ्दै छिन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाएकी अनिता पछिल्लो समय साँझबिहान अरूको काम गरेर दिउँसो पढ्न आउने गरेकी छन् । नपढेको मान्छेसँग ज्ञान नहुने र जसले पनि हेप्ने गरेकाले आफूले पढ्न थालेको बताउँछिन् । अनिताले भनिन्, ‘घरको आर्थिक कमजोर भएका कारण बुवाआमाले पहिले पढाउन सक्नुभएन तर अहिले ठुलो भए पनि आफैँ कमाउँदै पढ्न थालेकी छु ।’ जीवनमा शिक्षा भएन भने अघि बढ्न सकिँदैन भन्ने बुझेकी अनितालाई पनि सकेसम्म उच्च शिक्षा अध्ययन गर्ने चाहना छ ।

देवीकुमारी, विमला र अनिता मात्रै होइन, १४ वर्षअघि घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा कक्षा १ देखि ७ सम्म अहिले ३० जना महिलाले अध्ययन गर्दै आएका छन् । सामुदायिक विद्यालयमा अध्ययन गराइने कोर्ष अनुसार नै चेतना महिला अनौपचारिक विद्यालयमा पठनपाठन हुने गरेको विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थी बताउँछिन् । कोरोनाको सङक्रमणअघि विद्यालयमा प्रत्येक वर्ष ७० देखि १०० जनासम्म महिलाले अध्ययन गर्ने गरे पनि कोरोनाकालपछि भने विद्यार्थी सङ्ख्या घटेको प्रधानाध्यापक पन्थी बताउँछन् ।

प्रधानाध्यापक पन्थीले भनिन्, ‘१४ वर्षअघि सञ्चालन भएको विद्यालयमा कोरोना भाइरसको सङ्व्रmमण अघिसम्म राम्रै विद्यार्थी हुने गरेका थिए । हामीलाई व्यवस्थापन गर्न नै समस्या हुने गरेको थियो तर पछिल्लो समय केही कमी भएको छ ।’ साक्षर जिल्ला घोषणा भए पनि अहिले पनि समाजमा पढ्न, लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको बताउँछिन् । उनले भनिन्, ‘अहिले पनि समाजमा पढ्ने लेख्ने रहर भएर पनि पढ्न नपाएका महिलाहरू हुनुहुन्छ । उहाँहरूलाई नै ध्यान दिँदै यो विद्यालय खुलेको हो, पढाउने कामसमेत गर्दै आएका छौँ ।’

यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नातकोत्तरसम्म अध्ययन गरिरहेको प्रधानाध्यापक पन्थी बताउँछिन् । करिब १४ वर्षको अवधिमा दुई हजार पाँच सयभन्दा बढी महिलालाई विद्यालयबाट शिक्षा प्रदान गरिएको बताइन् । २०६८ सालमा छ जना महिला मिलेर सञ्चालन गरेको विद्यालयले महिलालाई पढाएबापत उनीहरूबाट वार्षिक रूपमा ४०० रुपैयाँ शुल्क लिने गरेका विद्यालयका प्रधानाध्यापक पन्थी बताउँछिन् ।

उनीहरूलाई पठनपाठनका लागि चार जना महिला शिक्षिकहरू हुन् । उनले मासिक चार हजार रुपैयाँ तलबको व्यवस्था विद्यालयले जनाएको छ । त्यसका लागि घोराही उपमहानगरपालिकाले वार्षिक रूपमा पाँच लाख रुपैयाँ दिने गरेको र सोही पैसाले विद्यालयमा पठनपाठनका लागि आवश्यक सामग्री जुटाउनेदेखि पढाउने शिक्षिकालाई थोरै भए पनि तलबको व्यवस्था गरेको बताउँछिन् ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०८:५४