सूचनाको शक्ति - The Power Of Information

        

गायक प्रकाश सपुतले ल्याउँदै नयाँ सिर्जना ‘दमाई महाराज’

गायक प्रकाश सपुतले ‘गल्बन्दी’ र ‘बोल माया’ अर्को भागका रूपमा ‘दमाई महाराज’ ल्याउने भएका छन् । आइतबार उनले सामाजिक सञ्जालबाट आफ्नो नयाँ सिर्जनाबारे जानकारी दिएका हुन् । ‘गलबन्दी’ र ‘बोल माया’ प्रकाशका निकै चर्चित सिर्जना हुन् ।

‘भनेको थिएँ नि, यो साल २०८० मा मैले ‘जातीय विभेदविरुद्धको वर्ष’को रुपमा आफ्ना सिर्जनाहरू ल्याउने छु । यसको सुरुवातस्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ, दमाई महाराज ! मेरो करियरका दुई कोसेढुङ्गा गल्बन्दी र बोल मायाकै अर्को भाग हो, ‘दमाई महाराज,’ उनले भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहिले पनि अर्को भाग आँउदैछ भन्ने तर नल्याउने भनेर प्रेमिल गुनासो गर्नेहरुका लागि पनि यो मिठो सम्बोधन हुन सक्छ । बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा थियो, बोल माया ! संयोगवस अहिले म अरब (दुबई)मा छु र यहिबाट बोल माया भाग–२ को टाइटल अनाउन्स्मेन्ट गर्दैछु ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०७:०९