सूचनाको शक्ति - The Power Of Information

        

वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्ता खुशी

बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन् ।

शम्शेरगन्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ हजार ४४१ क्युफिट वन पैदावार सङ्कलन गरेको छ । यस अन्तर्गत पाँच हजार ७५८ क्युफिट आन्तरिक रुपमा उपभोक्तालाई वितरण गरेको छ ।

२१९ जना उपभोक्ता रहेको उक्त वन समुहले चार वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताइन् । त्यसैगरी राप्तीसोनारी–२ कोटही देवी युवा प्रगति वन समुहले १५ हजार ७६६ वन पैदावार सङ्कलन गरेको छ । अध्यक्ष तुल्सीराम भण्डारीका अनुसार चार वर्षपछि कटान गरिएको वन पैदावारमा तीन हजार ३०० उपभोक्तालाई काठ वितरण गरिएको छ ।

४५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त वन समुहलाई ३१६ घरधुरीले उपभोग गर्दै आएका छन् । विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको सो समुहले स्थानीय लक्ष्मी माविलाई रु एक लाख सहयोग गरेको छ । अन्य स्थानीय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ ।

सोही पालिकाअन्तर्गत वडा नं २ माथेबास जनमुखी वन समुहले पनि वन पैदावार गरेको छ । यसमा २९७ रुख कटान गरेको छ । ११० ढलापडाको व्यवस्थापन गरेको छ । दुई हजार सालको रुख कटान गरेको छ । गत चैतबाट सुरु गरिएको वन कटान गरिएको काठ लिलाम प्रक्रियामा रहने अध्यक्ष टोपबहादुर खड्काले बताए ।

विसं २०५८ मा दर्ता भएको वनमा सुरुमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको जनाउँदै उनले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागू गरिएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख स्रोत भएको बताए ।

४३४ दशमलव ३४ क्षेत्रफलमा रहेको उक्त वन समुहमा १७५ जना उपभोक्ता छन् । शम्शेरगन्ज सव डिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार हालसम्म एक लाख ९४ हजार ६७१ दशमलव ६१ क्युफिट काठ र ६६३ दशमलव ९१ चट्टान दाउरा घारगद्दी गरिएको छ ।

२५ प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्टाएर बाँकी लिलामी प्रक्रियामा रहेको सव डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वटा वन रहेका छन् ।

१९ वटामध्ये ११ वनमा वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको उनले बताए । त्यस्तै सात सामुदायिक वनमा ढलापडा सङ्कलन लगायत अन्य संरक्षणको काम भइरहेका छन् । समय अभावका कारण यसपालि सरकारद्वारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भइरहेको उनले जानकारी दिए ।

बाँके जिल्लामा कुल १३ सामुदायिक वनमा वन सम्वर्द्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणाली अनुसार हालसम्म सो सङ्कलनबाट कटान, मुछान र ढुवानीबाट करिब ६० हजारलाई रोजगारी सिर्जना भएको र चार वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुवेदीले बताए । उनका अनुसार विगत तीन वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुसी भएका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतवार १६:४६