ओडिशाको बालासोरमा भएको भीषण रेल दुर्घटनामा मृत्यु हुनेको संख्या हालसम्म २३८ पुगेको छ । शुक्रबार साँझ करिब ७ बजे भएको दुर्घटनापछि उद्धारको काम सुरु भएको थियो ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरी र उद्धार टोलीले गएरातिदेखि नै भग्नावशेषमा फसेका मानिसलाई निकाल्ने काम सुरु गरेको थियो । एक प्रत्यक्षदर्शी टुटु विश्वासले दुर्घटना पछिको दृश्य वर्णन बीबीसीलाई बताएका छन् ।
उनले भनेका छन्,
दुर्घटना हुँदा म घरमै थिएँ । चर्को आवाज सुन्यौँ घरबाट बाहिर निस्कँदा यो दुर्घटना भएको देख्यौं । मालगाडीमाथि रेल दौडिसकेको थियो । जब म यहाँ पुगेँ, धेरै मानिस घाइते भएका थिए । धेरैले ज्यान गुमाइसकेका थिए । यहाँ एउटा सानो बच्चा रोइरहेको थियो जसको आमाबुवाको मृत्यु भएको थियो ।
रुँदारुँदा त्यो बालकको पनि मृत्यु भयो । यहाँ धेरै मानिसहरूले पानी मागेका थिए । मैले सकेसम्म मानिसहरूलाई पानी दिएँ । हाम्रो गाउँका मानिसहरू यहाँ आएर मानिसहरूलाई सहयोग गरिरहेका थिए । हामीले केही घाइतेलाई बस स्टपमा लिएर गएपछि धन्यवाद दिन थाले । हिजोको दृश्य देखेर हाम्रो दिमागले काम गरेन । मेरो शरीर रगतले भरिएको थियो ।
अर्का प्रत्यक्षदर्शी गिरिजाशंकर रथले भने,
जब साँझमा यो घटना भयो, एउटा रेल माथिबाट र अर्को तलबाट आउँदै थियो । त्यही ट्र्याकमा एउटा मालगाडी उभिरहेको थियो । कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेर ठोक्कियो । त्यसपछि त्यहाँ आतंक फैलियो ।
डाउन ट्रेन शालिमार एक्सप्रेस अर्को तर्फबाट आउँदै थियो, पछाडिबाट ठोक्कियो । त्यसका दुईवटा बोगी पनि पटरीबाट खसेका थिए । हामी त्यहाँ पुगेर मानिसहरूलाई मद्दत गर्न थाल्यौं । डब्बाबाट बाहिर निस्कन मद्दत गर्यौं । यो काम लगभग रातभर चल्यो ।
यस्तै हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसमा सवार मुकेश पाण्डेले घटनाबारे भनेका छन्,
अचानक ठूलो धक्काको महसुस भयो, रेल पटरीबाट खसेर पल्टियो । आधा घन्टापछि म रेलबाट बाहिर निस्किएँ, त्यसपछि मेरो शरीर काँप्न थाल्यो । त्यहाँ गम्भीर अवस्थामा रहेकाहरूलाई उपचारका लागि पहिले लगियो । त्यसपछि हामीलाई लगियो । धेरै मानिस मारिएका छन्, तर म कसैलाई चिन्दिन ।
सत्यपाटी संवाददाता । काठमाडौं