सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, अझै बढ्ने अनुमान

 लगातार बढ्दै गएकाे सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ ।

सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

अस्ति, तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि भाउले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ ।

गएको १५ गते सार्वजनिक भएको बजेटमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर बढाएको थियो । बजेट अघि नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ।

बजेट वक्तव्य पछि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने भएको छ ।

यसैबीच, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १८:२५