सूचनाको शक्ति - The Power Of Information

        

सुनकोशीमा जीप खस्यो, ३ जना बेपत्ता

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौ‌ंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६/५७ का यमप्रसाद भुर्तेल र इलाम घर भएका विद्युत् प्रशिक्षक वर्ष ३०/३२ का भानु पौडेल  रहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको खोजी भइरहेको पनि बताएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १८:२१