बाँके । एचआइभी एड्स संक्रमितका लागि एकीकृत एवम् प्रभावकारी रुपमा कार्यक्रम र योजना ल्याइनुपर्ने आवश्यकता औंल्याइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा जुनकिरी महिला समूह र एड्स हेल्थ केयर फाउण्डेशन नेपाल (एएचएफ)ले आज नेपालगन्जमा आयोजना गरेको कावा समिति वैठक तथा सरोकारवालाबीचको वैठकमा सो कुरा औंल्याइएको हो ।
एचआइभी एड्समा कार्यरत सरकारी निकाय, सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र एचआइभी संक्रमित अगुवा सहभागी वैठकमा एचआइभीको समग्र अवस्था, चुनौती र गर्न सकिने तयारीबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै विचार विमर्श गरिएको थियो ।
एएचएफ नेपालका सञ्जयकुमार पौडलले एचआइभी संक्रमितको स्वास्थ्य विमा र जिविकोपार्जन, जनस्वास्थ्य कार्यालयका रामबहादुर चन्दले बाँकेमा एचआइभी संक्रमितको अवस्था, गरिएको पहल र प्रगति तथा जुनकिरी महिला समूहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरले एचआइभी संक्रमित बालबालिकाको सामाजिक सुरक्षा भत्ताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उपमहानगरपालिकाका नगर उपप्रमुख उमा थापा मगरले एचआइभी एड्स जटिल स्वास्थ्य समस्यासँगैै मानवीय समवेदनासँग पनि जोडिएकाले चुनौतिलाई सोही अनुरुप सामना गर्न दीर्घकालीन रणनीतिक योजनासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । स्वास्थ्य क्षेत्रमा पनि दक्ष जनशक्तिको अभावका साथै आपसी समन्वय र सहकार्यको खाँचो रहेकोमा उनको जोड थियो ।
भेरी अञ्चल अस्पतालका फिजिशियन डा संकेतकुमार रिसालले एचआइभी संक्रमणले बहु अंग फेल गर्ने भएकाले संक्रमितको उपचारसँगै पालनपोषण पनि प्रभावकारी बनाउने खालका एकीकृत कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
भेरी अञ्चल अस्पतालमा रहेको सिडफोर(एचआइभी जाँच) मेशिन तत्काल सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि उनले माग गरे । जुनकिरी महिला समूहका अध्यक्ष कमला उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य प्रमुख खिमबहादुर खडका लगायतले बोलेका थिए ।
।