सूचनाको शक्ति - The Power Of Information

        

भन्सार प्रमुख बन्न तानातान, बेथिति र सेटिङ उस्तै

देशमा राजश्व असुली यसरी घटेको छ कि कर्मचारीलाई तलब खुवाउन समस्या भइसक्यो । तर, राजश्व उठाउने सरकारी कार्यालयहरुमा अलिकति पनि सुधार हुन सकेको छैन, बेथिति र सेटिङ उस्तै छ ।

यसको उदाहरण भन्सार विभाग बनेको छ । विभाग दुई सातादेखि नेतृत्वविहिन छ । विभागमा महानिर्देशक रहेका चक्रबहादुर बुढालाई दुई साताअघि नै पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । तर, अहिलेसम्म नयाँ महानिर्देशक पठाउन सकिएको छैन ।

नयाँ महानिर्देशक नियुक्तिमा बोलकबोल चलिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । सहसचिवहरु शोभाकान्त पौडेल, राजेश्वर ज्ञवालीदेखि सेवन्तक पोखरेल लगायत विभागको महानिर्देशक बन्ने प्रतिस्पर्धामा छन् । पौडेललाई हालै मात्र अर्थमा सरुवा गरिएको छ ।

ज्ञवाली ठूला करदाता कार्यालयको प्रमुख छन् भने पोखरेल विभागमै उपमहानिर्देशकका रुपमा कार्यरत छन् । बजेटलगत्तै विभागको महानिर्देशक पठाउने अर्थमन्त्री प्रकाशशरण महतको तयारी छ । ढिला हुँदा अस्वस्थ चलखेल बढेको छ ।

‘करोडौं बुझाउने सर्तमा जानेले कसरी देशको राजश्व बढाउँलान् ?’ अर्थका एक कर्मचारी भन्छन्, ‘राजश्व कार्यालयहरुमा पनि यस्तै अवस्था छ ।’ उता रसुवा भन्सारमा कर्मचारीबीच नै मारामार छ । रसुवा भन्सारका प्रमुख नारायण भण्डारीले मिलेमतोमा न्यून मूल्याङकन गरी ट्रक छाडेको विभागको अनुगमनमा पुष्टि भयो ।

त्यसका लागि विभागको टोली रसुवा भन्सार पुगेकोमा उनले सूचना पाएर बीचबाटोबाटै ट्रक फर्काएर पुनः मूल्याङकन गराए । तर, विभागको टोलीले बदमासी पत्ता लगायो । जसमा भण्डारीसहित तीन कर्मचारीमाथि कारबाहीको सिफारिस भयो ।

तर, कारबाही रोक्न भण्डारीले प्रधानमन्त्रीसम्म दबाब दिइरहेका छन् । विभागका निर्देशक डा.राम मैनालीले आफुलाई फसाएको उनको आरोप छ । मैनालीलाई ८ महिनामै हटाएर भण्डारी गत रसुवा गएका थिए । उनको कार्यकालमा रसुवा भन्सारमा अनेककाण्ड बाहिर आएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १७:३५