शिव पार्वती मन्दिर निर्माण गर्न सहयोगी हातहरु बढ्दै
।
बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिरमा मूर्ति स्थापना भएसँगै मन्दिरलाई सहयोग गर्ने दाताहरु बढ्दै गएका छन् । जग्गा दानमा पाएको लामो समयपछि मन्दिर निर्माण भएको हो । स्थानीय निर्वाचनका क्रममा वडा अध्यक्ष मो.सफिक बेहनाले गरेको प्रतिवद्धताअनुसार शिव पार्वती मन्दिर निर्माण बनेको स्थानीयको भनाई छ ।
वडा नम्बर ४ का सबै जनप्रतिनिधिहरुको विशेष सहयोग र मेहनतबाट मन्दिरको स्थापना भएको मन्दिर ब्यवस्थापन समितिका सचिव युवराज कोइरालाले जानकारी दिए । नेपालगन्जका मेयर डा.धवलशम्शेर राणाले केही समयअघि गणेश र हनुमानको मूर्ति शिलन्यास गरेका थिए । उक्त मूर्ति निर्माणका लागि समेत दाताको सहयोग आएको सचिव कोइरालाले बताए ।
मन्दिर निर्माण र ब्यवस्थापनका लागि सहयोग गर्ने दाताहरुमा वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै वडा नम्बर ४ की सदस्य इन्दिरा शाहीले मन्दिरको लागि ब्यक्तिगत ११ हजार रुपैयाँ सहयोग गरेकी छन् भने वडाकै दलित महिला सदस्य जयपत्रा कोरीले ११ सय रुपैयाँ सहयोग गरेकी छन् ।
शिव पार्वती मन्दिर परिसरमै बनाउन लागिएको हनुमानको मूर्तिको लागि तेजनारायण कँडेलले सहयोग गर्ने बताएका छन् भने गणेशको मूर्ति निर्माणका लागि पनि सहयोगका लागि पनि विभिन्न व्यक्तिहरुले प्रतिवद्धता जनाएको समितिका सचिव कोइरालाले बताए । डेढ बिघा जमीनमा फैलिएको मन्दिर परिसरमा रहेका दुबै गेटहरुको निर्माणका लागी हिमाल वयकले सहयोग गरेका छन् भने मन्दिर परिसरमै ४ लाखको लागतमा निर्माणाधिन योगा हल बनाउन जयबहादुर खत्रीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
।