अभिभावक बन्न पाउनु सुखद कुरा हो । सन्तान जन्मेलगत्तै यौन क्रियाकलापमा संलग्न हुने कुरामा केही भिन्नता आउन सक्छ । यौनेच्छा एवं यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ । डेलिभरीपछि कहिलेदेखि यौनसम्पर्क राख्ने वा राख्न हुने वा राख्न नहुने भन्ने विषयमा धेरै मानिसमा द्विविधा देखिन्छ ।
विशेषगरी, गर्भपूर्वजस्तो नियमित रूपमा गरिने यौन सम्पर्कको क्रमभंग भएको अवस्थामा यसलाई फेरि कसरी सुचारु गर्न सकिन्छ ? जवाफ अलि जटिल छ । यसबारे कोसँग सल्लाह लिने भन्ने अन्योल पनि छ । कतिपय अवस्थामा स्वास्थ्यकर्मीले पनि स्पष्ट भनिदिँदैनन् । डेलिभरी एवं डेलिभरीपछिको अवधिमा आमाले आफ्नो स्वास्थ्यसँगै नवजात शिशुको पनि हेरचाह गर्नुपर्ने हुन्छ ।
स्तनपान एवं शिशु स्याहारका साथै राति पनि यथेष्ट सुत्ने नपाइने हुनाले निकै थकाइ लाग्ने हुन्छ । स्वाभाविक रूपमा थकाइको बेला सफलतापूर्वक यौन सम्पर्क राखिँदैन । नवजात शिशुका लागि आवश्यक दूध उत्पादनको क्रममा स्तन भारी हुने तथा दुख्ने हुन्छ । यस्तो बेलामा यौनका दृष्टिले महिलाको स्तनको स्पर्श असजिलो लाग्न सक्छ ।
स्तनपानसँग सम्बन्धित हर्मोनको अधिक उत्पादन एवं इस्ट्रोजेनको मात्रामा केही कमी आई योनिमा सुक्खा हुने हुन्छ । र, यौन सम्पर्क पीडादायी हुन सक्छ । डेलिभरीपछि शारीरिक थकान, स्तनको भारीपन, दुखाइ, निराशालगायत कतिपय शारीरिक वा मानसिक कारणले यौन जीवनमा नकारात्मक असर परिरहेको हुन सक्छ ।
त्यसो त परिवारमा नवजात शिशुको आगमन सुखद भए पनि गर्भावस्था एवं प्रसवोत्तर समय पूर्ण रूपमा तनावमुक्त भने होइन । डेलिभरीका बेला योनिमार्गमा आएको परिवर्तनका कारण पुरुष पार्टनरले केही समय योनि अलि खुकुलो भएको महसुस गर्न सक्छन् । यसले गर्दा यौन क्रियाकलाप त्यति सहज भइरहेको हुँदैन ।
यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरत (केगेल कसरत) मार्फत यो असहजता हटाउन भने सकिन्छ । यो मांसपेशी संकुचित गरेर यौन सम्पर्कको बेलामा दुवै जनालाई यौनसुख प्राप्त गर्न मद्दत मिल्छ । गर्भावस्था अनि डेलिभरीपछिको अवस्थामा महिलाको शरीरमा निकै परिवर्तन आउँछ । यस्तो अवस्थामा महिला आफैँलाई आफ्नो शरीर अनाकर्षक लाग्न सक्छ ।
श्रीमान्ले पनि यस्तै सोचेको होला कि भन्ने पिरले यौन कार्यमा त्यति चाख राख्दैनन् । प्रसवोत्तर समयमा कतिपय आमामा तनाव र निराशा उत्पन्न हुन सक्छ । अनिद्रा, अपुग भोजन र भविष्यको चिन्ताले यौन सम्पर्कमा नकारात्मक प्रभाव पर्ने हुन्छ । डेलिभरीका बेला शिशु पाउन योनिद्वार ठूलो बनाउन इपिजियोटोमी घाउ बनाउँदा, योनिमार्ग च्यातिँदा वा सिजेरियन शल्यक्रियाको घाउमा पीडा हुन सक्छ ।
यो प्रसव पीडामाथिको थप पीडा हो । आफ्नै श्रीमती यसरी पीडामा हुँदा वा यौन सम्बन्ध राख्नेबित्तिकै दुखेको गुनासो गर्दा कुन चाहिँ जिम्मेवार श्रीमान्ले यौन क्रियाकलाप अघि बढाउलान् त ? तनाव वा चिन्ताका कारण पनि यौन सम्पर्कको बेला योनिमा बढी पीडाको अनुभूति हुन सक्छ । पीडादायी यौन सम्पर्कमा त्यति सुखद अनुभूति हुँदैन । यसबाहेक बच्चालाई बढ्ता ध्यान दिनुपर्ने कारणले यौन कार्यमा ध्यान पु¥याउन सकेको हुँदैन । बच्चा पाएपछि विशेष गरी आमाको माया बाँडिन्छ भन्ने भ्रम छ ।
यस्तोमा असमझदार श्रीमान्ले आपूmलाई बेवास्ता गरेको ठान्न सक्छन् । यस्तो परिस्थितिमा पार्टनरबीच यौन सम्बन्धमा नकारात्मक असर पर्न सक्छ । त्यसो त प्रसवपछि महिनावारी सुरु नभएसम्म गर्भ रहने सम्भावना निकै कम छ तर पनि यथेष्ट जानकारीको अभावमा गर्भ रहला कि भन्ने डरले निकै समयपछिसम्म पनि यौन सम्बन्ध राख्न डराइरहेको हुन्छ । डेलिभरीपछि कहिलेदेखि यौन सम्पर्क पुनः सुचारु गर्न सकिन्छ भन्ने विषयमा कुनै एकरूपता नभए पनि माथि उल्लिखित समस्या विद्यमान छैन र दम्पतीलाई यौन चाहना छ भने यौन सम्बन्ध सुरु गर्दा हुन्छ ।
तर, कतिपयले मोटामोटी बच्चा पाएको छ हप्तापछि यौन सम्पर्क सुरु गर्न सकिने ठानेका छन् । कतिपयले भने अझ बढी समय पर्खनु उचित ठान्छन् । मुख्य कुरा मूलतः महिला पार्टनर यौन सम्पर्कका लागि शारीरिक तथा मानसिक दुवै हिसाबले तयार हुनुपर्छ । श्रीमान्को करकापले मात्र राखेको यौन कार्य सुखद हुँदैन । श्रीमानले पनि आफ्नो श्रीमतीको भावनाको कदर गर्नुका साथै बच्चाको हेरचाहमा सहयोग पुर्याएको खण्डमा यौन सम्बन्धमा अप्रत्यक्ष फाइदा पुग्छ ।
डेलिभरीपछि योनि सुक्खाको समस्या भएमा योनिमार्ग चिप्लो बनाउने जेली लगाउन सकिन्छ । योनिमार्गको खुकुलोपन घटाउन केगेल कसरत सहायकसिद्ध हुन्छ । थकित बेलामा लिंग–योनि सम्पर्क नै गर्न नसकिए पनि यौन आनन्दका वैकल्पिक उपाय अपनाई यौन आनन्द लिन सकिन्छ । तर, विशेषतः पुरुष पार्टनरबाट संयमको खाँचो छ । पीडादायी यौन सम्पर्क कम गर्न पीडानाशक औषधि, उपयुक्त आसनले सहजता मिल्छ । आपसी हस्तमैथुन उपयुक्त विकल्प हुन सक्छ ।
महिलामा आफ्नो शरीरप्रति नकारात्मक भाव वा अन्य कुनै गम्भीर खालको मानसिक चिन्ता वा डिप्रेसन छ भने श्रीमान् र परिवारजनको ढाडस, सरसहयोग एवं मनोचिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । महिनावारी राम्ररी सुरु नभएसम्म गर्भ रहने सम्भावना हुँदैन, तर पनि परिवार नियोजनको बानी बसाल्न, जन्मान्तर राख्न पर्याप्त स्तनपानका साथै प्रोजेस्टेरोनयुक्त चक्की वा सुई वा नरप्लान्टलगायत गर्भ निरोधका साधन अपनाउन सकिन्छ । कन्डम पनि राम्रो विकल्प हुन सक्छ । असामान्य योनिस्राव वा रक्तस्राव भइरहे चिकित्सकसँग सल्लाह लिनुपर्छ्र ।
सत्यपाटी संवाददाता । काठमाडौं