सूचनाको शक्ति - The Power Of Information

        

४२ करोड ठगेर शिवशिखर सहकारी फरार

वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै झन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरु फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्वानअनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन् ।

भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

देशभरका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेको शिवशिखर सहकारीले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरासँगै डोटी, कैलाली र कञ्चनपुरमा शाखा स्थापना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर सहकारी संस्थामा बचत गरेका सर्वसाधारणलाई उजुरी दिन सार्वजनिक सूचनामार्फत आह्वान गरेको हो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार ०७:५०