सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशसभामा ब्रह्मालुट

पाँच वर्षदेखि गैरकानूनी भत्ता बुझ्दै सुदूरपश्चिमका सांसद

सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूले आफ्नो निजी भ्रमणको खर्च पनि प्रदेशसभा सचिवालयबाट उठाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूले आफ्नो निजी भ्रमणको खर्च पनि प्रदेशसभा सचिवालयबाट उठाएको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीम भण्डारी २३ फागुनमा काठमाडौं गए । काम थियो, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान । निर्वाचनपछि ६ चैतमा धनगढी फर्किएका भण्डारीले दैनिक तथा भ्रमण भत्ता, विमान टिकट र फुटकर खर्च वापत कुल रु.४७ हजार ९२५ प्रदेश सभा सचिवालयबाट बुझे ।

उक्त निर्वाचनका बेला दुईपटक काठमाडौं ओहोरदोहोर गरेकी उपसभामुख कोइलीदेवी चौधरीले पनि सचिवालयबाट २२ हजार ९२५ रुपैयाँ बुझिन् । प्रदेशसभा सदस्यहरू चक्रबहादुर मल्ल, वीरबहादुर थापा, राजेन्द्रसिंह रावल र हीरा सार्कीले पनि १५ दिनभित्र दुई पटक काठमाडौं आउजाउ गर्दाको दैनिक तथा भ्रमण भत्ता, विमानको टिकट र फुटकर खर्चवापतको रकम लिए ।

अघिल्ला कार्यकालका प्रदेशसभा सदस्यहरू

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जेठ ५ गतेसम्म ३९ जना प्रदेशसभा सदस्यको खातामा दैनिक तथा भ्रमण भत्ता, यातायात खर्च र फुटकर खर्च बापतको १६ लाख ६ हजार १०५ रुपैयाँ हालिसकेको छ । अझै केहीको खातामा रकम पठाउन बाँकी छ ।

सचिवालयमा मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाही र राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्ट बाहेक सबैले यस्तो भत्ता र खर्च प्राप्तिका लागि निवेदन दिएका छन् । उनीहरूको भ्रमण आदेश सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किएपछि सबैभन्दा धेरै भत्ता ५३ हजार ३२५ रुपैयाँ माओवादी सांसद ओमविक्रम भाटले बुझेका छन् । त्यस्तै जुनाकुमारी दानीले ५१ हजार ३६५ र अक्कल रावलले ५१ हजार २५ रुपैयाँ बुझेका छन् ।

कानून विपरीतको सुविधा

‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ अनुसार प्रदेशकै कामका लागि हिंडेका सदस्यले समेत दैनिक भत्ता र भ्रमण भत्ता बाहेक अन्य सुविधा पाउने व्यवस्था छैन । उता प्रदेशसभा सचिवालयले भने ऐन अनुसार नै भत्ता उपलब्ध गराइरहेको दाबी गरेको छ ।

‘हामीले उहाँहरू (प्रदेशसभा सदस्यहरू)लाई प्रदेश सभाको काममा जाँदा–आउँदाको टिकट अनुसारको रकम, फुटकर खर्च वापत दैनिक एक हजार र दैनिक तथा भ्रमण भत्ता स्वरूप प्रति दिन २५०० का दरले उपलब्ध गराउँछौं,’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने, ‘शुरूबाटै यही भइरहेको छ ।’

तर, ऐनमा टिकट खर्च र फुटकर खर्च दिने व्यवस्था छैन । ‘प्रदेशसभाको कामको सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गर्दा पदाधिकारी र सदस्यहरूलाई अनुसूची १ अनुसार दैनिक तथा भ्रमण भत्ता दिइनेछ’ प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० मा उल्लेख छ ।

अनुसूचीमा सांसददेखि सभामुखसम्मलाई दैनिक तथा भ्रमण भत्ता रु.२५०० दिने उल्लेख भए पनि कति अवधिका लागि भन्ने छैन । तर, यही व्यवस्था देखाउँदै प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूले आफ्नो निजी भ्रमणको खर्च पनि प्रदेशसभा सचिवालयबाट उठाएको पाइएको छ ।

उपचारका लागि काठमाडौं जान २०७८ मंसीर २१–२७ गतेको भ्रमण आदेश स्वीकृत गराएकी प्रदेशसभा सदस्य उमादेवी वादीले यात्रा खर्च, दैनिक भत्ता र फुटकर खर्च गरी कुल रु.२९ हजार २५ प्रदेश सभा सचिवालयबाट बुझिन् । त्यस्तै नियमित स्वास्थ्य परीक्षण तथा संसदको गतिविधि अध्ययनका लागि भन्दै २० फागुनमा काठमाडौं गएका अक्कल रावलले पनि उस्तै शीर्षकमा कुल ३० हजार ९४५ रुपैयाँ बुझे ।

२५ माघ २०७८ मा उपचारका लागि भन्दै काठमाडौं गएका हर्कबहादुर कुँवरले ८ हजार १२५ रुपैयाँ बुझे । त्यही कारण देखाएर मालामती रानाले ३२ हजार ७२० र सुशीला बुढाथोकीले २७ हजार ८०५ रुपैयाँ बुझे । प्रदेशसभाका लेखा अधिकृत भीमबहादुर ऐर शुरूदेखि नै दिंदै आएको दैनिक तथा भ्रमण भत्ता र अन्य खर्चबापतको रकमलाई यसपटक पनि निरन्तरता दिइएको बताउँछन् ।

लेखा परीक्षणमा समेत बेरुजु नदेखिएकाले यस्तो सुविधालाई निरन्तरता दिइएको उनको जिकिर छ । उनी भन्छन्, ‘कानूनमा यो त्रुटि छ, त्यसैले अलिक अलमल बनाएको हो ।’ सभामुख भीम भण्डारी सांसदहरू काठमाडौं जाँदा हुने खर्चको दाँजोमा सचिवालयले दिने भत्ता सामान्य रहेकोे बताउँछन् ।

उनी भन्छन्, ‘काठमाडौंको सामान्य होटलमा दैनिक ३५०० भन्दा तल कोठा पाइँदैन । एक दिनमा हजार–पन्ध्र सयमा खाना पुग्दैन । यसरी हेर्दा यहाँ दिइएको सेवा सुविधा खास केही होइन । तर, बाहिरबाट हेर्दा यो कानून अनुसार भएन भनेर हल्ला भइरहेको छ ।’ जनप्रतिनिधिलाई आवश्यकता अनुसार दिइने खर्चलाई ठूलो मामिला बनाउनु नहुने उनले बताए ।

लेखाको बेवास्ता

ऐन र नियमावलीमा नरहेको यो सुविधा प्रदेशसभा सदस्यहरूले पाँच वर्षदेखि लिइरहँदा पनि आन्तरिक लेखा परीक्षक र अन्तिम लेखा परीक्षक दुवैले यस्तो रकमलाई बेरुजुमा राखेका छैनन् । प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका लेखा अधिकृत यज्ञराज पाण्डेय लेखा परीक्षण गर्दा ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ र ‘भ्रमण खर्च (चौथो संशोधन) नियमावली, २०७२’ अनुसार गरिएको बताउँछन् ।

यद्यपि, ऐनको यो व्यवस्थाबारे खोपकेसँगको कुरापछि मात्रै थाहा पाएको दाबी गरेका उनले उल्टै सोधे, ‘महालेखा परीक्षकको कार्यालयले गर्ने अन्तिम लेखा परीक्षणमा पनि यो कुरा किन आएन होला त ?’ पूर्व कार्यवाहक महालेखा नियन्त्रक सुकदेव खत्री भने सांसदहरूले बुझेको मध्ये रु.२५०० बाहेकको बाँकी सबै खर्च र भत्ता फिर्ता हुनुपर्ने बताउँछन् ।

भन्छन्, ‘दुई वटा कानुनमा टेकेर सेवा सुविधा लिन पाइँदैन । यसरी लिएको सुविधा गैरकानुनी नै हो ।’ सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्याय यसलाई कानूनको मस्यौदा गर्दा ध्यान नपुगेको र अनुभवको कमी भएको रूपमा अथ्र्याउँछन् ।

उनी भन्छन्, ‘सर्सर्ती हेर्दा यो गैरकानूनी देखिन्छ । शाब्दिक अर्थमा यो बेरुजु नै हो । तर मुख्य कारण चाहिं कानूनमा ‘ग्याप’ भएको हो ।’ २०७४–०७५ मा संघीय सरकारले पठाएको नमूना कानूनलाई जस्ताको तस्तै पारित गर्दा पनि समस्या आएको उनको बुझाइ छ । यसबारे अदालतमा मुद्दा परे यो सुविधा बदर हुनसक्ने उनी बताउँछन् ।

अन्य प्रदेशमा यस्तो छैन

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं पुगेका अन्य प्रदेशका प्रदेश सभा सदस्यले पनि यस्तै सुविधा लिएका छन् त ? यसबारे खोजी गर्दा दैनिक तथा भ्रमण भत्ता साथै प्लेन टिकट र फुटकर खर्च पाउनेहरू सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू मात्र भेटिए । कोशी प्रदेशले प्रदेशको कामका लागि काठमाडौं जाने सांसदलाई यातायात खर्च मात्र उपलब्ध गराएको रहेछ ।

कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशले भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न जानेलाई कुनै सुविधा उपलब्ध गराएका छैनन् । ‘यो उहाँहरूको व्यक्तिगत कुरा हो, संसदको काम होइन,’ गण्डकी प्रदेशसभा सचिवालयका उपसचिव प्रेम सुवेदीले भने, ‘उहाँहरू आफैं आफ्नै खर्चमा जानुभयो ।’

कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवनराज बुढाथोकी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जाने प्रदेश सभा सदस्यहरूलाई सचिवालयले भत्ता वा अन्य खर्च उपलब्ध गराउने व्यवस्था नभएको र त्यो आवश्यक पनि नरहेको बताए ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन प्रदेश सभाले बनाएको खर्च वा भत्ता सम्बन्धी मापदण्ड अन्तर्गत निर्वाचनको काममा काठमाडौं जाने सांसदलाई भत्ता उपलब्ध गराउने मामिला नपरेको बताउँछन् । बागमती प्रदेशसभाका सदस्यहरूले पनि यस्तो भत्ता पाएका छैनन् ।

‘उहाँहरूले माग्नुभएको छैन, हामीले पनि दिएका छैनौं,’ सचिव कृष्णहरि खड्का भन्छन्, ‘मतदान गर्न गएका प्रदेशसभा सदस्यहरूलाई भत्ता दिने कुरा पनि त भएन नि, हैन ?’ मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पनि मतदान गर्न काठमाडौं पुगेका सांसदलाई प्रदेश सभाबाट कुनै सुविधा नदिइएको बताउँछन् ।

यो विषयलाई ठूलो बनाउनुहुँदैन : सभामुख भण्डारी

गएको पाँच वर्षदेखि प्रदेशसभा सदस्यहरूले लिइरहेको फुटकर खर्च, प्लेन भाडा इत्यादि ऐन विपरीत होइन र ?

प्रदेशसभाले बनाएका कानून अधुरा छन् । केही बाझिएका पनि छन् । ऐन अनुसार नियमावलीमा छैनन्, नियमावलीमा भएकालाई समेट्ने गरी ऐन पनि बनेका छैनन् । त्यसैले अलिक विरोधाभास देखिएको हो । सेवा–सुविधाको कुरा तपाईंले उठाइहाल्नुभयो, सांसदलाई संघीय राजधानी काठमाडौं जानुपर्ने हुन्छ, उसले त्यहाँ जाँदा २५०० दैनिक भ्रमण भत्ता पाउँछ ।

तर, काठमाडौंको सामान्य होटलमा बस्ने हो भने पनि दैनिक ३००० हजार ३५०० भन्दा तल कोठा पाइँदैन । एक दिनमा हजार–पन्ध्र सयले खाना पुग्दैन । यसरी हेर्दा उसले पाउने सेवा–सुविधा केही होइन । तर, बाहिरबाट हेर्दा त कानून बनेन, यो नीति अनुसार भएर भनेर हल्ला भइरहेको छ ।

हामीले सरकारी काममा जाने बेला मात्र टिकट खर्च दिन्छौं । अहिले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सबै जानुपर्ने भएर यो सुविधा दिइएको हो । हामीले कसैलाई व्यक्तिगत प्रयोजनका लागि टिकट खर्च उपलब्ध गराउँदैनौं ।

‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ मा त त्यो सुविधा उल्लेख छैन नि ?

बस्ने–खाने कुरामा त प्रष्ट छ, दैनिक २५०० रुपैयाँ हो । आउने–जाने सन्दर्भमा अधिवेशनमा आउने बेलामा टिकटको व्यवस्था छ काठमाडौं जाने–आउने विषयमा दिंदा पनि त्यति समस्या भइहाल्ला जस्तो लाग्दैन ।

कानूनमा नभएको कुरामा तपाईंले समस्या भइहाल्दैन भनेर जोगाउन मिल्छ र ?

सीधा हेर्दा तपाईंले भने जस्तो लाग्ला, त्यसमा मेरो भन्नु केही छैन । तर, तपाईं हामीले बुझेजस्तो कानूनले पूर्णता पाएको छैन ।

दैनिक भत्ता रु.२५०० पनि कति दिनका लागि भन्ने ऐनमा स्पष्ट छैन त ?

नेपालको संविधान, ऐन, प्रदेशको ऐन, नियमावली सबै पूरा भइसकेका छैनन् । त्यसैले कसैले गलत नियत राखेर राज्य स्रोतको दोहन गरिरहेको छ भने त्यो अपराध नै हो । तर, आवश्यकतामा गरिने खर्च त्यो पनि जनप्रतिनिधिको विषयलाई ठूलो इस्यु बनाउनु उपयुक्त हुँदैन ।

उसो भए, कानून विपरीत भुक्तानी गरिरहने ?

परिमार्जन गर्नुपर्ने विषय धेरै छन् । प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिकका विषयमा पनि धेरै कुरा अधुरा छन्, ती सबैलाई हामी संशोधनमा लैजान्छौं ।

स्रोत : खोज पत्रकारिता केन्द्र
प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०८:१८