सूचनाको शक्ति - The Power Of Information

        

‘नेपालगन्जकाे विद्युत समस्या एक साताभित्र समाधान हुन्छ’

अनियमित विद्युत र लो-भोल्टेज समस्या समाधानका विषयमा नेपालगन्ज उप-महानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ ।

नेपालगन्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलसंग छलफल गरेका हुन् ।

नेपालगन्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले ‘विद्युतको नियमितता’ सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरबासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताएका छन् ।

नेपालगनज उप-महानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्याधिक गर्मी हुने सहर नेपालगन्जमा पछिल्ला दिनमा विद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याको कारण, उप-महानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा राखेका थिए ।

पत्रकारहरुको उपस्थितिका बीच आयोजित छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको भन्दै शनिबारसम्ममा सम्पूणर् समस्या समाधान गरिने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ०८:४७