सूचनाको शक्ति - The Power Of Information

        

रटानको रहस्य

ओम्नी, बतास र ७० करोड काण्डको छानबिन हुने डर

‘चोरको खुट्टा काट’भन्दा वास्तविक चोरले खुट्टा उठाएझैं आफ्ना अनगिन्ती कर्तुत ढाक्न ओली अहिले अत्यासपूर्ण शैलीमा भ्रष्टाचारीको बचाउ गरिरहेका छन् ।

सरकारले नीति तथा कार्यक्रम ल्यायो । त्यसमा निहित बुँदा, व्याख्या र कुनै पनि विषयसँग एमालेको त्यति ठूलो सरोकार देखिएन । मात्रै, नीति तथा कार्यक्रमलाई असफल तुल्याउन ओलीले आग्रह गरे । उनले संसद्मा गरेको दुई घण्टाभन्दा लामो मन्तव्यको छेउ र टुप्पो सुन्नेहरूले पत्तो लगाउनै सकेनन् ।

घरी आफ्नो कार्यकालको आफैँले प्रशंसा गर्ने, घरी प्रचण्ड सरकारलाई गाली गर्ने । यसरी आफ्ना राजनीतिक तथा तात्कालिक एजेण्डाबाट विमुख भएपछि राप्रपाले आत्मसात् गरेको हिन्दु राज्य, संवैधानिक राजतन्त्रजस्ता विषयमा आकर्षित भएको एमालेलाई अहिले नीति तथा कार्यक्रम असफल पार्ने सन्दर्भमा त्यही राप्रपाले समेत साथ दिएको छैन ।

ओलीकै आग्रह र योजनाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाले पनि उनको आज्ञा शिरोधार्य गरेको छैन । तर, उनी एक्लो रटान लगाइरहेका छन्– नीति तथा कार्यक्रम असफल पार्ने । नीति तथा कार्यक्रमको सैद्धान्तिक तथा कार्यक्रमिक पक्षमाथि ओलीले टिप्पणी गरेका छैनन् । उनले असफल पार्ने मात्रै भनेका छन् ।

तर, किन भन्ने तर्कसङ्गत विश्लेषण छैन । नीति तथा कार्यक्रममा उल्लेखित विषयमध्ये कुन विषयमा पार्टीको धारणा के हो भन्ने कुरा पनि उनले प्रष्ट राखेका छैनन् । पार्टीभित्र छलफल चलाएर, सम्बन्धित विषयका विज्ञ तथा अनुभवी नेताका बीचमा बसेर नीति तथा कार्यक्रमबारेका तथ्य र तर्कको खोजी गरेको भए संसद्मा दुई घण्टा बोल्दा पनि निष्कर्षहीन हुनुपर्ने स्थितिमा ओली पुग्ने थिएनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका केही नेता मुछिइसकेका छन् । केही नेता र निकटस्थ त्यसमा मुछिने सम्भावना बाँकी नै छ । यस्तो स्थितिमा भ्रष्टाचारकै पक्षमा वकालत गर्दै अगाडि बढ्नुपर्ने अवस्थामा एमाले पुग्दा उक्त पार्टीका पुराना र त्यागी नेताहरू यतिबेला लज्जाबोध गरिरहेका छन् । ओलीले ‘निर्दोष पर्नुहुँदैन’ भनेर पक्राउ परेका भ्रष्टाचारीमध्ये केही व्यक्तिका पक्षमा खुलेर बोलेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो तान्दै जाँदा ओलीको कार्यकालमा भएका यती, ओम्नी, बतास, ७० करोडजस्ता ठूलाठूला आर्थिक अनियमितताका विषयहरू अनुसन्धानको दायरामा आउलान् भन्ने ठूलो पीर छ । ‘चोरको खुट्टा काट’भन्दा वास्तविक चोरले खुट्टा उठाएझैं आफ्ना अनगिन्ती कर्तुत ढाक्न ओली अहिले अत्यासपूर्ण शैलीमा भ्रष्टाचारीको बचाउ गरिरहेका छन् ।

यो घटनाले उनलाई यस्तो बनाएको छ कि, आफूले के बोल्दैछु भन्ने भेउसमेत पाउन छाडेका छन् । ओलीले जेठ ४ गते उक्त घटनाको रहस्य खोल्ने अभिव्यक्ति दिएका थिए । तर, उनले ८ गतेसम्म पनि कुनै रहस्य खोलेनन् । बरु, उनीसँग सम्बन्धित भ्रष्टाचार मोहका रहस्यात्मक टिप्पणीहरू भने जनमानसमा छताछुल्ल भइरहेका छन् । यी तमाम घटनाले एमालेका विधि र पद्धति पक्षधर नेता तथा कार्यकर्ता आजित छन् ।

पार्टी राजनीतिक मुद्दामा केही बोल्दैन । परिवर्तित सन्दर्भका कार्यदिशाबारे कुनै धारणा आउँदैन । अबका कार्यभार र चुनौतीबारे पार्टीभित्र कुनै बहस, विश्लेषण र व्याख्या हुँदैन । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको बैठक त बस्छन् । तर, अध्यक्षका आदेशात्मक भाषण सुनेर फर्किनुपर्ने स्थितिमा पार्टीकै नेताहरू छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओली गलत भएको सार्वजनिक टिप्पणी नै गरेका छन् ।

उनले अध्यक्ष गलत हुँदा आफू र पार्टीका अरु नेताहरू पनि गलत हुने भन्दै सबैले सच्चिएर अगाडि बढ्ने बेला आएको भनेका छन् । गुरुङको भनाइलाई पार्टीको ठूलो पङ्क्तिले आत्मसात गरेको छ । ओली प्रधानमन्त्री भएकै बेलामा शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको कार्यकालका दुई मन्त्रीको संलग्नता पुष्टि भई एक पूर्वमन्त्री तथा सांसद त प्रहरी हिरासतमै छन् । अर्का मन्त्रीका सल्लाहकार हिरासतमा छन् भने ती मन्त्रीका छोरा फरार छन् ।

एकजना सांसद ज्यान मुद्दामा फरार हुँदा सांसद पदबाट निलम्बित छन् । अनुसन्धानकर्मी प्रहरीका कतिपय अधिकृतले यो प्रकरणमा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको कनेक्सन भेटिएको छ । तर, ओलीको दबाबमा अहिलेसम्म जोगाइँदै आएको छ । यसरी राजनीतिक विषयमा पार्टीको भूमिका र प्रभाव बढाउनुपर्ने बेलामा भ्रष्टाचार र ज्यान मुद्दाको अभियोग लागेका व्यक्ति जोगाउने कुरामा अलमलिँदा पार्टी गलत भएको चिन्ता उपमहासचिव गुरुङ लगायतलाई परेको छ ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०६:३५