सूचनाको शक्ति - The Power Of Information

        

फेसबुकलाई ६४८ मिलियन डलर बढीको जरिबाना

आयरल्यान्डको ‘डेटा प्रोटेक्सन कमिसन’ले फेसबुकलाई ६४८ मिलियन डलर (६४ करोड ८० लाख) भन्दा बढीको जरिबाना तिराउने भएको छ । युरोपेली संघ (ईयू)को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिबाना तोकेको द गार्डियनले उल्लेख गरेको छ ।

साथै, कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ । यो जरिबानाले जीडीपीआरको उल्लंघनको जरिबानामा नयाँ रेकर्ड राख्नेछ । यसअघि २०२१ मा लक्जमबर्गले एमेजनलाई ६४८ मिलियन डलरको जरिबाना तिराएको थियो । आयरल्यान्डको उक्त कमिसन ‘ईयू’भर फेसबुक र यसको ‘प्यारेन्ट कम्पनी’ मेटाको लागि प्रमुख गोपनीयता नियामक संस्था हो ।

कमिसनले युरोपेली प्रयोगकर्ताहरूको डेटा अमेरिका ‘ट्रान्सफर’ गर्न रोक्ने अपेक्षा पनि गरिएको छ । यद्यपि, यो निर्णय तत्काल लागू हुने सम्भावना कम छ । मेटालाई निर्णयको पालना गर्न केही समय दिइने अपेक्षा गरिएको छ । जसकारण निर्णयको लागू हुने समय शरद ऋतुसम्म धकेलिन सक्छ । त्यस्तै, कम्पनीले यस निर्णयविरुद्ध अपिल गर्ने अपेक्षा पनि गरिएको छ ।

फेसबुकलगायत अनलाइन सर्भिसहरुले ‘स्ट्यान्डर्ड कन्ट्र्याक्चुअ क्लजेज (एससीसी)’को आधारमा डेटा ‘ट्रान्सफर’ गर्दै आएका छन् । २०२० मा मेटाका नीति विभाग प्रमुख निक क्लेगले ‘डेटा ट्रान्सफर’ रोक्नुपर्ने अवस्था आएमा यसको असर एससीसीमा आधारित रहेका धेरै ठूला व्यवसायहरुमा पर्ने बताएका थिए । मेटाले एससीसी वा अन्य कुनै ‘डेटा ट्रान्सफर’को संयन्त्रबिना कम्पनीले ईयूमा फेसबुक र इन्स्टाग्राम लगायतका केही महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन नसक्ने आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

स्रोत : द गार्डियन
प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ११:४६