सूचनाको शक्ति - The Power Of Information

        

विशेष विमानबाट दिल्ली लगिए पूर्वराजा, मोदीसँग ‘गोप्य’ भेट

वैशाख २२ गते सुरक्षाकर्मीसमेत नलिइ भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह लखनउबाट विशेष विमानबाट दिल्ली पुगेको खुलेको छ । त्यहाँ उनले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा छलफल गरेका थिए ।

पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि एक घण्टा विशेष छलफल गरेको स्रोतले दाबी गरेको छ, तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । मोदीसँगको भेटका के विषयमा छलफल भयो भन्ने पनि खुल्न सकेको छैन, तर वर्तमान व्यवस्था विरुद्ध पूर्वराजाका पछिल्ला अभिव्यक्ति आक्रमक रहँदै आएका छन् ।

पूर्वराजा शाह वैशाख २२ गते शुक्रबार स्थलमार्ग हुँदै निजी भ्रमणका लागि भन्दै भारतको लखनउ गएका थिए । लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजाकै हैसियतमा पूर्वराजालाई स्वागत गरेका थिए । नेपालगन्जमा नागरिक अभिनन्दन ग्रहण गरेपछि भारत पुगेका पूर्वराजा र भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीचको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

मुख्यमन्त्री योगीकै पहलमा प्रधानमन्त्री मोदीसँग एक घण्टा पूर्वराजाको गोप्य भेटघाट भएको स्रोतको दाबी छ । नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए । यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ ।

नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेपछि पूर्व राजाले अहिलेको व्यवस्था नेता केन्द्रित भएको भन्दै पुरानै गौरव फर्काउन आह्वानसमेत गरेका थिए । लखनउमा केही दिन बिताएका पूर्वराजा त्यहाँबाट विमान चार्टड गरेर दिल्ली पुगेका थिए । दिल्लीबाट लखनउ हुँदै स्थलमार्गबाट पूर्व राजा शाह जेठ २ गते सोमबार साढे ४ बजे नेपालगन्ज फर्किएका थिए ।

शनिबार धनगढीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो । तर उक्त कार्यक्रम स्थगित भएपछि सोमबार (आज) नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको पूर्वराजका संवाद सचिव फणिराज पाठकले जानकारी दिए । ‘धनगढीका जेठ ६ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो,’ पाठकले डिसी नेपालसँग भने, ‘तर बन्दलगायतका कारणले नागरिक अभिनन्दन दुई दिन पछि सरेको हो ।’

नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो । तर पछि सो पार्टीले बन्दलगायतका कार्यक्रम फिर्ता लिएको थियो । संवाद सचिव पाठकका अनुसार पूर्वराजको धनगढीमा नागरिक अभिनन्दनपछि मंगलबार अत्तरियामा राजा महेन्द्रको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ०९:०७