सूचनाको शक्ति - The Power Of Information

        

प्रत्येक पालिकामा ‘स्मार्ट’ विद्यालय

सरकारले हरेक पालिकामा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने नीति लिएकाे छ । आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले यस्ताे याेजना सार्वजनिक गरेकाे हाे ।

नीति तथा कार्यक्रममा सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणाबमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ‘ल्याउने, सिकाउने र टिकाउने’ कार्यलाई प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ । यस्तै पढ्दै कमाउँदै कार्यक्रमलाई पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रमको रूपमा सञ्चालन गरिने भएकाे छ ।

आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न दलित, अल्पसङ्ख्यक, लोपोन्मुख, पिछडिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिक रूपले विपन्न तथा अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सङ्घीय शिक्षा ऐन संसद्‌को यसै अधिवेशनबाट पारित गरिने, शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने सरकारले नीति लिएकाे छ । ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा पालिकाबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १८:५५