सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा बैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि ‘उद्यमशिलता प्रवद्र्धन’ कार्यक्रम

नेपालगञ्जमा बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि ‘उद्यमशिलता प्रबद्र्धन’ कार्यक्रम सञ्चालन गरिएको छ ।

उद्यमशिलता प्रबद्र्धन कार्यक्रम अन्तर्गत सात दिने तालिमको आयोजना गरिँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले तालिम गर्न लागेको हो ।

व्यवसायिक योजना निर्माण, लेखा सञ्चालन र व्यवस्थापन, व्यवसाय छनौट, व्यवसाय सञ्चालन प्रक्रिया, उद्यमशिलता लगायतका विषयमा तालिम प्रदान गरिने रोजगार सेवा केन्द्रकी प्रमुख मञ्जु ज्ञवालीले बताइन् ।

बैदेशिक रोजगार बोर्डको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले उद्यमशिलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको हो । श्रम स्विकृति लिई बैदेशिक रोजगारीमा गई बैदेशिक रोजगारीबाट फर्केका मध्येबाट आवेदन माग गरेर ४० जनालाई छनौट गरिएको छ ।

ती ४० जनालाई उद्यमशिल बनाउने उद्देश्यले तालिम दिन लागिएको हो । यसअघि नै विभिन्न व्यवसाय, काम वा उद्यम गरिरहेकाहरुलाई थप प्रोत्साहन गर्दै केही आर्थिक सहयोग गर्ने र नयाँ उद्यम गर्न चाहनेहरुबाट व्यवसायिक योजना माग गरी सहयोग गर्ने नीति रहेको रोजगार सेवा केन्द्रकी प्रमुख ज्ञवालीले बताइन् । यसका लागि २० लाख बजेट रहेको उनले जानकारी दिइन् ।

तालिमको पूर्व सन्ध्यामा आज बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनः एकिकरण कार्यक्रम शुभारम्भ तथा लाभग्राहीसंग छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु सहभागी कार्यक्रममा कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले विदेशबाट फर्केका व्यक्तिहरुको उद्यमशिलताका लागि सञ्चालित कार्यक्रम निकै लाभदायी हुने विश्वास व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक गर्न लागेको पुनः एकिकरण कार्यक्रम उपयोगी हुने बताए ।

उनले सकेसम्म स्वदेशमै काम गर्ने वातावरण बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले कामलाई सानो वा ठूलो नभनेर मेहनत गर्नुपर्ने बताए । वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवीले बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका व्यक्तिहरुलाई सहयोग र प्रोत्साहन गर्ने दायित्व सबैको भएको बताए ।

रोजगार संयोजक ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथ प्रकाश पारेको कार्यक्रमको सहजीकरण रोजगार सहायक अनुप बर्माले गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १८:४१