सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगर स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालनका लागि विज्ञ टोलिसँग छ्लफल

कोहलपुर नगरपालिका-१५ मा रहेको कोहलपुर नगर स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालनका लागि विज्ञहरुसंग छ्लफल गरिएको छ ।

काठमाडौंबाट आएको सहरी प्रबर्द्धन केन्द्रको विज्ञ टोलिसंग कोहलपुरका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा छ्लफल गरिएको हो । यो प्रबर्द्धन केन्द्रले कोहलपुर नगरपालिका वडा न• ४,७, ८,९, १४ र १५ लाई लक्षित गरेको छ ।

छ्लफलको सहजीकरण गर्दै सहरी प्रवर्द्धन केन्द्रका विज्ञ प्रताप पौडेलले नागरिकले सहज र सस्तो तरिकाले गुणस्तरिय सेवा पाउन भन्ने उद्देश्यले स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा  ल्याइएको बताए ।

स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा घरमै उपचार सेवा दिनु पनि रहेको उनको भनाइ छ । `स्वास्थ्यकर्मी घरघरमा पुगेर व्यक्तिहरुको स्वास्थ्य अवस्था के छ? कुन उमेर समुहका व्यक्तिमा कस्तो समस्या छ ? बिरामीले के कस्ता औषधि खाइरहेका छन् ? यी सबै कुराको तथ्यांक समेत संकलन गर्ने गरिन्छ उनले भने-`यसरी आउने तथ्यांकबाट व्यक्तिको प्रोफाइल तयार हुन्छ ।

 त्यसैका आधारमा स्थानीय सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहज हुन्छ ।´ स्वास्थ्य प्रबर्द्धन केन्द्रको अर्को उद्देश्य  रोग लाग्नै नदिने र लागे पनि बिरामीले समयमै थाहा पाउने र   उपचारको पहुँचमा ल्याउने गरि सचेतना फैलाउनु पनि रहेको उनको भनाइ छ । एकीकृत प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रवर्द्धन केन्द्र उद्देश्य रहेको उहाँको भनाइ छ ।

नसर्ने रोगको प्रकोप बढ्दै गएकोले स्थानीय सरकारको ध्यान अब त्यसतर्फ जानु पर्ने  विज्ञ पौडेलले बताए । कोहलपुर नगरपालिका-१५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षता भएको छ्लफल कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले  कोहलपुर नगर प्रबर्द्धन केन्द्रलाई नागरिकको पहुँचसम्म पुर्‍याउने गरि काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे।

उनले प्रवर्द्धन केन्द्रले घरघरमा पुगेर सेवा दिने बताए । प्रवर्द्धन केन्द्रलाई नमुना बनाउने दायित्व स्वास्थ्यकर्मी भएकोले त्यसैअनुसार काम गर्न नगर प्रमुख आचार्यको निर्देशन थियो ।

नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए । उनले विज्ञहरुको रायको आधारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने बताए ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल प्रवर्द्धन केन्द्र संचालन र व्यवस्थापनमा पालिकाले गरिरहेको कार्यबारे जानकारी गराए । उनले प्रवर्द्धन केन्द्र संचालनका लागि जनशक्ति व्यवस्थापन र  पूर्वाधार निर्माणमा पालिकाले सहयोग गरिरहेको उनको भनाइ छ ।

विज्ञ टोलिमा प्रताप पौडेल र कृष्ण रिजाल सम्मेलित हुनुहुन्छ । उनीहरुले केहिदिन कोहलपुरमा बसेर कोहलपुर नगर प्रबर्द्धन केन्द्र संचालनमा सहजीकरण गर्नेछन्  ।

विज्ञहरु संगको छलफलमा कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आले, ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, ८ का वडा अध्यक्ष लाल बहादुर राना, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिक, आर्थिक विकास समिति संयोजक अनिता बुढा, प्रवर्द्धन केन्द्रका प्रमुख डा.गोविन्द प्रसाद थारुसहित कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १८:३५