सूचनाको शक्ति - The Power Of Information

        

महाकाव्यकार जनार्दनशरण त्रिपाठीको निधन

हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवं महाकाव्यकार जनार्दनशरण त्रिपाठीको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित उनको आज बिहान ४ः३० बजे ८० वर्षको उमेरमा हेमजास्थित निवासमै निधन भएको हो । उनको आजै बिहान ८ः०० बजे शवयात्रासहित अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

छन्दकवि एवं साहित्यकार छन्दमणि (शंकर) त्रिपाठीका अनुसार जनार्दनशरणका नेपालश्री महाकाव्य, हाम्रो भन्नु प्रवन्ध काव्य, नेपाली वन सम्पदा र वातावरण खण्डकाव्य,  समझ्दारी गीतिनाट्य, आरोहण महाकाव्यको अद्बोधन, नेपाली माटामा महानाटक र नेपाली सांस्कृतिक लेख प्रकाशित छन् ।

उनले बागलुङबाट रत्नश्रेष्ठ पुरस्कार प्राप्त गर्नुका साथै दर्जन बढी साहित्यिक संघ-संस्थाबाट पुरस्कृत एवं सम्मानित भएका थिए ।  उनी मुकुन्दशरण वाङ्मय परिषद्कासमेत संस्थापक अध्यक्ष हुन् भने अन्य आधा दर्जन साहित्यिक एवं वाङ्मयिक संघसंस्थामा आवद्ध भएका थिए ।

त्रिपाठी लामो समय अध्यापन पश्चात् सेवा निवृत्त भएका थिए । उनका श्रीमती, एक छोरा र पाँच छोरी छन् । हेमजा साहित्य प्रतिष्ठानले गत साउनमा संस्थापक अध्यक्ष त्रिपाठीको जन्मोत्सव मनाएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार ०८:५४