सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

नेकपा एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

एसले नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं रुपैयाँ ठगीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।

नेकपा (एकीकृत समाजवादी), केन्द्रीय मोर्चा संगठन विभागको आयोजनामा हुने विरोध कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने बताइएको छ।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। नक्कली भूटानी शरणार्थी काण्डका भ्रष्ट अपराधीहरुलाई कडाभन्दा कडा सजायको माग गर्दै प्रदर्शनमा उत्रिएको हो।

पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, वाइडबडी काण्ड, ३३ किलो सुन काण्ड, यती काण्ड, ओम्नी काण्ड, बूढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टलगायत विभिन्न ठूला भ्रष्टाचारका काण्डहरू छानबीन हुनुपर्ने माग जनस्तरबाट उठेको छ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले फैसला सुनाउने मिति तोकेपछि पछिल्लो समयमा पेशी चढेको छैन। उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, बाबुराम भट्टराईसमेत यो मुद्दा मुछिएका छन्।

उनीहरू वर्तमान सरकारको सत्ता साझेदार हुन्। नेपाल प्रधानमन्त्री भएका बेला बालुवाटारमा विशिष्ट व्यक्ति (प्रधानमन्त्री, प्रधानन्यायाधीश) निवास विस्तार गर्ने नाममा सरकारी जग्गा हिनामिना भएको पाइएको छ।

मन्त्रिपरिषद्को २०६६ चैत २९ र २०६७ वैशाख ३१ को निर्णयबमोजिम नेपाल सरकार (समरजंग कम्पनी), राजकुलो र बाटोको जग्गाको समेत मोही कायम गरिएको छ। सार्वजनिक, सरकारी र गुठीसमेतका जग्गा हिनामिना हुन पुगेको अवस्थामा मन्त्रिपरिषद्को २०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्ण देखिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

२०६९ माघ ५ गते बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल सरकार (समरजंग कम्पनी) का नाममा दर्ता रहेको ललिता निवासको ३ रोपनी १२ आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गराउने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि गुठीको नाममा दर्ता कायम हुने ठहर्‍याई संस्थानका प्रशासक बलिरामप्रसाद साह तेलीले निर्णय पर्चा गरेको देखिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०९:१५