सूचनाको शक्ति - The Power Of Information

        

‘लम्पी स्किन’ रोगबाट मर्न थाले पशुचौपाया

बैतडीमा लम्पी स्किन रोगबाट ३२५ घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण ३२५ पशुचौपाया मरेका हुन् । समस्याका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन् ।

जिल्लाभरि लम्पी स्किनका कारण तीन हजार बढी पशुचौपाया बिरामी परेका छन् । सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको बताइएको छ । मेलौलीमा लम्पी स्किनबाट एक हजार ३५० पशुचौपाया बिरामी परेका छन् भने २५ पशुचौपाया मरेका छन् । यस्तै दुई हजार ४०० पशुचौपाया प्रभावित भएका छन् ।

यस्तै जिल्लाको पाटन नगरपालिकामा ३५० पशुचौपाया बिरामी परेका छन् भने ११ पशुचौपाया मरेका ६०० पशुचौपाया प्रभावित भएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यस्तै, पुर्चौंडी नगरपालिकामा सोही रोगबाट एक हजार पशुचौपाया बिरामी परेका छन् भने १९० पशुचौपाया मरेका छन् ।

पुर्चौंडीमा उक्त रोगबबाट एक हजार ८०० पशुचौपाया प्रभावित भएका छन् । यस्तै सुर्नया गाउँपालिकामा २७० पशुचौपाया बिरामी परेका छन् भने १२ मरेका छन् । एक हजार २७५ पशुचौपाया प्रभावित भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिकामा ५०० पशुचौपाया बिरामी परेका छन् भने ५० पशुचौपाया मरेका छन् ।

शिवनाथमा एक हजार २०० पशुचौपाया प्रभावित भएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ६८ पशुचौपाया बिरामी परेका छन् भने १४ पशुचौपाया मरेका छन् । दोगडाकेदारमा लम्पी स्किनबाट २५० पशुचौपाया प्रभावित भएका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा ५० पशुचौपाया बिरामी परेका छन् भने १३ पशुचौपाया मरेका छन् ।

सोही रोगबाट स्किनबाट दुई हजार २०० पशुचौपाया प्रभावित भएका छन् यस्तै सिगास गाउँपालिकामा १७० पशुचौपाया बिरामी परेका छन् भने ४५० पशुचौपाया प्रभावित भएका छन् । पञ्चेश्वर गाउँपालिकामा उक्त रोगका कारण ३२५ पशुचौपाया बिरामी, पाँच मरेका र दुई हजार प्रभावित भएका छन् ।

दशरथचन्द नगरपालिकामा ४३ बिरामी, एक मरेका र तीन हजार पाँच सय प्रभावित भएका जनाइएको छ । लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । लम्पी स्किनबाट गाईगोरु बढी प्रभावित भएका छन् । रोग फैलिएकोबारे प्रदेश सरकारलाई जानकारी गराइसकेको केन्द्रले जनाएको छ ।

पशुचौपायामा ज्वरो आउने, सिगान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । सो रोगको औषधि नभएका कारण रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको पशु प्राविधिकले बताएका छन् । बैतडीमा गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो ।

सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाका सबै स्थानीय तहमा फैलिएको छ । यो रोग झिंगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १७:०३