१३ अर्बको लागतमा आठ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्षमा पनि पूरा हुन सकेको छैन । समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ५३ अर्ब पुगेको छ ।
बाँकेका किसानको भाग्य चम्काउने विश्वास गरिएको राष्ट्रिय गौरवको सो आयोजनाको गुरुयोजना पटक पटक संशोधन गरेर लागत समेत बढाउँदै लगिएको हो । आठ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०६२ सालमा सुरु गरिएको थियो ।
सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले सो आयोजनाको निर्माण विभिन्न कारणले १८ वर्ष बितिसके पनि अझै पूरा हुन नसकेको बताए । उनले समय थपिँदै जाँदा लागत पनि बढ्दै गएर सुरुमा १२ अर्ब ७० करोडको लागत निर्धारण गरिए पनि अहिले आएर सो लागत ५२ अर्ब ८९ करोड पुगेको बताए ।
सिनियर डिभिजनल इन्जिनियर यादवका अनुसार राप्तीसोनारी गाउँपालिकाका केही वडा र नरैनापुर गाउँपालिकाका सबै वडामा सिँचाइ पुर्याउन पूर्वी नहरको ९ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने गरी पहिलो गुरुयोजना संशोधन भएको थियो ।
गुरुयोजना परिमार्जन गरेर आर्थिक वर्ष २०७६–०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा काम पूरा गर्ने लक्ष्य राखिएको थियो । सिनियर डिभिजनल इन्जिनियर यादवले भने, ‘दोस्रो पटक निर्धारण गरिएको लक्ष्यअनुरूप काम नभएपछि तेस्रोपटक आयोजनाको लागत र समयसीमा बढाएर ५२ अर्ब ८९ करोडको लागत पुर्याइएको छ ।’
यादवका अनुसार तेस्रो फेजको गुरुयोजना अनुसार अब आर्थिक वर्ष ०८९–०९० मा सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो फेजबाट नहर, मूल नहर, शाखा, प्रशाखा निर्माण गर्ने मात्र नभई सिञ्चित क्षेत्र बचाउको कार्यक्रम पनि राखिएको छ ।
आयोजना कार्यालयका अनुसार सिक्टा सिँचाइको पश्चिमी मूलनहर ४५.२५ किलोमिटर निर्माण भइसकेर १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ भने पूर्वी नहरको ५३.५ किलोमिटरमध्ये ३९.६७५ किलोमिटरको काम सम्पन्न भएर करिब पाँच हजार हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँकेमा ५२ हजार हेक्टर खेतीयोग्य जमिन छ । ३६ हजार हेक्टरमा धान खेती हुन्छ । अधिकांश स्थानमा आकासे पानीको भर पर्नुपर्थ्यो । तर, हाल सो आयोजनाबाट करिब २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकाले किसानलाई राहत भएको छ । आयोजनाको काम सम्पन्न भएमा ४६ हजार ७१५ किसान परिवारले वर्षभरि नै सिँचाइ सुविधा पाउनेछन् । उत्पादकत्वमा करिब २ गुणा वृद्धि हुने किसानको आशा छ ।
आयोजनाको काम सम्पन्न भएमा पश्चिमी नहरबाट बाँकेको राप्तीसोनारी, बैजनाथ, जानकी, खजुरा र डुडुवा गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट राप्तीसोनारीका केही वडा र नरैनापुर गाउँपालिकाको गरी ९ हजार हेक्टर गरी ४२ हजार ७६६ हेक्टर कृषियोग्य खेतमा पानी पुग्नेछ ।
सत्यपाटी संवाददाता । बाँके