सूचनाको शक्ति - The Power Of Information

        

अस्पताल निर्माणमा ढिलाइ हुँदा सयौँ बिरामीलाई सास्ती

तीन पटक म्याद थपिसक्दासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ अत्याधुनिक भवन निर्माण पूरा हुन सकेको छैन । २५० शैय्याको सो अस्पताल भवनको निर्माणमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ आउने सयौँ बिरामीलाई परेको अस्पतालले जनाएको छ ।

२०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४–०७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले भवन निर्माणका लागि ३२ करोडको लागतमा ठेक्का पाएको थियो तर सो समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन ।

पहिलो पटक म्याद थप गरी २०७९ भदौ १५ सम्म र फेरि म्याद थप गरी मङ्सिर मसान्तसम्म र पुनः म्याद थप गरी फागुन मसान्तसम्म हस्तान्तरण गरिने भनिए पनि अहिलेसम्म अस्पताललाई भवन हस्तान्तरण हुन नसक्दा त्यसको प्रत्यक्ष मार बिरामीले खेपिरहेका छन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाईंले बताए ।

उनले अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएकाले नयाँ भवन बनेपछि सहज हुने विश्वास गरिएकामा अझै पनि भवन निर्माण पूरा नभएको बताए । उनले बिरामीको चापले गर्दा अस्पतालमा ठाउँ अभाव भएकाले बिरामी लिएर आउनेहरू आक्रोशित हुने गरेको र नयाँ भवन कहिलेबाट सञ्चालन हुने भनी धेरैले प्रश्न गर्ने गरेको बताए ।

अस्पतालका अनुसार कोभिड महामारीपछि भेरी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । पछिल्ला दिनमा त दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी भेरी अस्पतालमा उपचार लिन आउने गरेका छन् । भेरी अस्पताल नेपाल सरकारको स्वीकृत १०० शैय्या र अस्पताल विकास समितिबाट थप ५० गरेर जम्मा १५० शैय्या क्षमतामा सञ्चालित छ ।

सरकारले ५०० बेड क्षमतामा अस्पताल स्तरोन्नति गर्न सैद्धान्तिक निर्णय गरिसके पनि जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था अझै हुन सकेको छैन । बिरामीको चाप र गर्नुपर्ने निःशुल्क सेवाका लागि उपयुक्त बजेट नै व्यवस्था हुन नसकेको पनि जनाइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले कोभिड लगायत विभिन्न कारणले भवन निर्माणमा ढिलाइ भए पनि अब छिटै भवन हस्तान्तरण गर्न दबाब दिइरहेको बताए ।

उनले केही दिनमै अस्पतालको इमर्जेन्सी सेवालाई नयाँ भवनमा सार्ने तयारी भइरहेको पनि बताए । सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले अहिलेसम्म भवन निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको र बाँकी काम गरेर आउने असार महिनामा जसरी पनि भवन हस्तान्तरण गरिने जानकारी दिए । उनले भने, ‘अहिले काम द्रुत गतिमा भइरहेको छ, असारमा सो भवन अस्पताललाई हस्तान्तरण गरिने छ ।’

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १५:५६