नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको जेल जीवन अझै लम्बिने निश्चित भएको छ । सर्वोच्च अदालतले न्यायालयको अघिल्लो फैसलालाई नै सदर गरेको छ । पछिल्लो फैसला अनुसार रेशम आजीवन जेलमा बस्ने छन् ।
तर, फैसला पुनरावलोकन सदर हुने हो भने उनी जेलमुक्त हुन्छन् । यतिखेर उनी डिल्लीबजार कारगारमा छन् । सर्वोच्चले आजीवन कारवास फैसलालाई सदर गरेको भोलिपल्ट विज्ञप्ति जारी गर्दै न्यायलयप्रति विश्वास रहेको र पुनरावलोकनमार्फत आफू जेलमुक्त हुने रेशमले विश्वास व्यक्त गरेका छन् ।
उनले फैसलाविरुद्ध सामाजिक सञ्जालमा जे पायो त्यही नलेख्न भन्दै कार्यकर्ता र शुभचिन्तकलाई आग्रह समेत गरेका छन् । सर्वोच्चको निर्णयमा रेशमले रोस प्रकट गर्ने अनुमान थियो । तर, उनले अलिकति पनि बिचलित नभएको बरु पुस्तक लेखिरहेको बताएका छन् ।
श्रीमती तथा पार्टी सभापति रञ्जिता चौधरीमार्फत सार्वजनिक विज्ञप्तिमा रेशमले भनेका छन्, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु ! स्वस्थ छु, रतिभर मन बिचलित छैन, पुस्तक लेखीरहेको छु ।’
पहिलेदेखि नै गीत संगीत साहित्यमा संलग्न रेशमले यसपकट ‘धरातल’ नामक पुस्त्क लेखिरहेको सार्वजनिक गरेका छन् । सोही पुस्तकमार्फत साक्षत हुने विज्ञप्तिमा उल्लेख छन् ।
पुस्तकबारे रेशमले भनेका छन्, ‘केहीदिनमा ‘धरातल’ नामक पुस्तकको साथ तपाई समक्ष साक्षात हुनेछु ।’ कारागार बसाइकै क्रममा रेशमले टीकापुर घटनाको चिरफार, परिबन्द लगायतका पुस्तक लेखिसकेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं