सूचनाको शक्ति - The Power Of Information

        

आजबाट डिजेल र मट्टितेल १० रुपैयाँ सस्तो, पेट्रोल यथावत

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थको खरीद मूल्य घटेर आएपछि निगमले पनि डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्यमा गएराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ थियो।

पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ। पेट्रोलको मूल्य प्रतिलिटर १७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६०, हवाई इन्धन (बाह्य) को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर  एक हजार आठ सय कायमै छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०८:०३