सूचनाको शक्ति - The Power Of Information

        

‘सक्कली भुटानी’ले अझै पाएनन् शरणार्थी परिचयपत्र

आठ महिनाभन्दा बढी भइसक्दा पनि नविकरण भएका भुटानीहरुले अझै पनि शरणार्थी परिचयपत्र पाउन सकेका छैनन् । नवीकरण भएको लामो समयसम्म पनि सक्कली भुटानी शरणार्थीहरु परिचयपत्र नपाएपछि समस्यामा परेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले जनाएको छ ।

सो समितिका कार्यवाहक अध्यक्ष तिलक राईका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकमा नै तहल्का मच्चाइरहेको बेला सक्कली भुटानीहरुले भने परिचय पत्र अझै नपाएका हुन् । त्यसमाथि नक्कली भुटानी शरणार्थी काण्डले वर्षौदेखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्याएको उनको भनाई छ ।

जसकाकारण पनि भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले सो काण्डका बारेमा स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि सरकारसँग औपचारिक रुपमा आग्रहसमेत गरेको छ । हालै गैरभुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो धनराशीको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले भनेको छ, ‘हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा त्यसमा आवश्यक सहयोग गर्न संस्था प्रतिबद्ध रहेको छ ।’ झापा र मोरङमा शिविरहरुमा कष्ठपूर्ण जीवन बिताइरहेका करिब ६ हजार ५०० हाराहारीका भुटानी शरणार्थीहरुको जीवनयापनका बारेमा संबेदनशिल भईदिन पनि सो समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०९:०१