सूचनाको शक्ति - The Power Of Information

        

विचार

एमाले : मुखले राष्ट्रवादी, व्यवहारले राष्ट्रघाती

भीम रावललाई सिध्याउने टोपबहादुरलाई जोगाउने ओली हर्कतले स्वाभिमानी एमालेजनको मन कति पोलेको होला ?

जननेता मदन भण्डारीले कुनै बेला नेपालको राजनीतिमा सबैभन्दा लोकप्रिय पार्टी निर्माण गरेको नेकपा एमाले आज भ्रष्ट, बिचौलियाहरुको पार्टीका रुपमा बदनाम हुन थालेको छ । अनुशासित कार्यकर्ता अनि नैतिकवान नेताहरु भएको पार्टी भनेर त्यस पार्टीलाई विरोधीहरुले पनि सम्मानले हेर्ने गर्थे । तर, आज त्यही पार्टीभित्रै रहेकाहरू पनि आफूलाई एमाले भन्न लज्जित महसुस गर्ने अवस्थामा पुगेका छन् । हुन पनि हिजो राष्ट्रियताको धरोहर जनिने एमाले आज ‘मुखले राष्ट्रवादी, व्यवहारले राष्ट्रघाती’ बन्दै गएको छ ।

हिजो संसद्देखि सडकसम्म भ्रष्टहरुको सातो उडाउने एमाले आज आमरुपमा भ्रष्टहरुको क्लब बनेको छ । त्यसैले विभिन्न खालका भ्रष्ट र तस्करहरुलाई जोगाउनु एमाले बाध्य बनेको छ । एमालेमा आएको यो विसंगति र विकृतिले एमाले दिनदिनै खस्कँदै गएको छ । सही नीति, विचार र कार्यशैली त्यागेर गलत नीति, गलत व्यवहार र गलत कार्यनीति लिएर हिँडन तम्सने ‘सन्की’ नेतृत्व भएपछि एमालेमात्रै होइन, कुनै पनि दलको हालत हुने एमालेकै जस्तो हो । त्यसमा दुःख मान्नुपर्ने कारण छैन ।

तर एउटा ठूलो पंक्तिले लामो समय लगाएर, दुःख, मेहनत अनि त्याग तपस्या गरेर निर्माण गरेको पार्टी यसरी एक्कासी क्षयीकरण हुन जाँदा उत्पन्न रिक्ततालाई परिपूर्ति गर्न सक्ने गरेर अर्को त्यस्तो शक्ति निर्माण हुन लाग्ने समयको बीचमा आउने राष्ट्रिय आपत्चाहिँ पक्कै चिन्ता गर्नुपर्ने विषय हो । सदैव नकारात्मकता कायम रहन सक्दैन । तर, नकारात्मकताको अन्त्य भएर सकारात्मकताको जन्म र विकासको अवस्थामा पुग्न लाग्ने समय र त्यस बीचमा देश र जनताले भोग्नुपर्ने दुःख र सहनुपर्ने त्रासदीचाहिँ अत्यारलाग्दो नै छ ।

तर, पनि त्यो कठिन समय पार गर्ने हिम्मत र आँट गरेर हिँड्नुको विकल्प छैन । यस्तो अवस्थामा चुनौतीलाई पार लगाउँदै सभावनाको खोजीमा कोही न कोही निस्कन्छन् नै । त्यसको प्रत्यक्ष उदाहरण खोज्न अन्यत्र जानुपर्दैन । नेतृत्वको गलत नीति र कार्यशैलीको पहिचानपश्चात त्यसको भण्डाफोर गर्दै त्यहींभित्र आन्तरिक संघर्ष गर्न खोज्दा त्यसलाई जबर्जस्त निषेध गर्न खोजिएपछि एमालेकै एउटा ठूलो पंक्ति त्यहाँबाट विद्रोह गरेर निस्किएको होइन ? त्यसैले आमरुपमै गलत कुराको विरुद्ध संगठित विरोध अवश्य छ ।

असल र इमान्दारहरुको ठूलो पंक्तिले विद्रोह गरेर नयाँ पार्टी बनाइसक्दा पनि एमालेमा थप ठूलो पंक्ति त्यहीँ केही सुधार गर्न सकिन्छ कि भनेर बसेकै पनि छन् । अब त्यो पंक्ति पनि निस्कनुको विकल्प छैन । खैर जे होस्, पार्टीभित्र हुर्किएको अहंतावाद, व्यक्तिवाद, अराजनीतिकवादका विरुद्ध केही न केही त हुन अनिवार्य नै छ । किनभने जे जसरी आज नेकपा एमाले पार्टीले विगत एमालेको नीति, सिद्धान्तको विपरीत खराब कार्यशैली र आचरणलाई आफ्नो परिचय बनाउँदै लागेको छ ।

त्यसले सकारात्मकताको राजनीति गर्ने सबैलाई चिन्तित बनाएको छ । नबनाओस् पनि त कसरी ? हिजो संवैधानिक सर्वोच्चतासहितको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने मदन भण्डारीको पार्टीका नेता हुँ भन्ने ओली दुईपटक असंवैधानिकरूपमा संसद् विघटन गरे । व्यक्तिगत जिम्मेवारी सामूहिक नेतृत्वमा चल्दै आएको एमाले पार्टी आज ओलीले कालोलाई सेतो भन्यो भने त्यही सही भन्दै ताली बजाउन बाध्य छ । एक जना ओलीको बोली नै त्यो पार्टीको निर्णय बन्दै आएको छ ।

अरु त अरु पार्टी महाधिवेशनमा नेतृत्व छनोट गर्दासमेत ओलीको कोटको खल्तीबाट निस्किएको चिरकट्टोमा निर्भर बन्न पुग्यो । त्यसैले त दुर्गा प्रसाईँजस्ता मान्छे नेतृत्वमा पुग्ने अनि नरेश खरेलजस्ता मान्छे किनारा लाग्ने अवस्था बन्यो । अब त हुँदाहुँदा ओली नेपाली नागारिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै पैसा कुम्ल्याउने आरोप खेपिरहेका टोपबहादुर रायमाझी बचाउन प्रधानमन्त्री प्रचण्डसँग ‘त्वम् शरणम्’ गर्दैछन् ।

‘टोपबहादुरलाई बाटैबाट समात्न पाइन्छ ?’ भन्दै ओलीले दिएको धम्कीपछिको अलमलले आज टोपबहादुर रायमाझी स्वाभाविक अनुसन्धान छलेर भगौडा बनेका थिए । त्यसो गरेर ओलीले एमालेलाई मात्रै होइन, अनुसन्धानबाट निर्दोष सावित हुनसक्ने टोपबहादुरलाई समेत अपराधी बन्न बाध्य बनाए । समग्रमा भन्नुपर्दा हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको हर्कतले हद पार गर्दै गएको छ । उनको त्यस कामले हाललाई स्वयं ओलीको व्यक्तित्व र एमालेलाई गम्भीर असर गरिरहको छ ।

तर, त्यस्ता गलत हर्कतको निरन्तरताले त्यसको विरुद्ध जबर्जस्त विद्रोह हुनसक्ने सम्भावनालाई पनि टड्कारोरुपमा संकेत गर्छ । यसो भन्दै गर्दा कतिपयले त्यसलाई आग्रह पूर्वाग्रह भनेर बुझ्लान तर, त्यो पूर्वाग्रह हैन । बरु असली एमालेहरुको मन बुझेको आधारमा निकालिएको निष्कर्ष हो । अझै पनि होइन भन्ने लाग्छ भने आफ्नो मनलाई सोध्नुस् ! भीम रावललाई सिध्याउने टोपबहादुरलाई जोगाउने ओली हर्कतले स्वाभिमानी एमालेजनको मन कति पोलेको होला ?

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०७:४९