नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ । गत बिहीवार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।
सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार हिजोबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने ।
सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन ।
साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौँ