सूचनाको शक्ति - The Power Of Information

        

‘अब ओम्नी र बालुवाटार प्रकरणको पनि छानबिन हुन्छ’

नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको बताए । एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने उनले बताए ।

उनले भने, ‘एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निष्कर्षमा पुर्याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो ।’

पौडेलले ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण र एनसेल प्रकरणबारे पनि छानविन हुने बताए । उनले भने, ‘कतिपय कुराहरू पहिला पनि उठेका थिए । ती कुराको पनि क्रमशः छानबिन हुन्छ । ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्कर प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानबिन हुन्छ ।’

नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने घटना गम्भीर भएको पौडेलको भनाइ थियो । उनले भने, ‘मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन । भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन । नेपालका नागरिकहरूको साझा विषय हो ।’ राजनीतिक दलहरू साझा संकल्पका साथ भ्रष्टाचाविरुद्ध लाग्नुपर्ने पौडेलको भनाइ थियो । यस्ता विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गरेर जान नहुने उनले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १६:१९